जितगढीमा भएको नेपाल–अङ्ग्रेज युद्ध
यो युद्ध १९ औं शताब्दी (वि.सं. १८७१–७२) मा भएको थियो । बुटवल र स्युराज (कपिलबस्तु) लाई अङ्ग्रेजले आफ्नो इलाका भनी दावी गरेका कारण नेपालले विश्व विजयी अङ्ग्रेज विरुद्ध बाध्यात्मक युद्ध लड्नु परेको थियो । पाल्पा राज्य नेपाल अधिराज्यमा एकीकरण भएपछि पाल्पाका राज खलक र केही भारदार खलक असन्तुष्ट भएका थिए । यिनै असन्तुष्ट भारदार खलक अङ्ग्रेजका सुचक थिए र नेपाल विरुद्ध अङ्ग्रेजलाई उक्साएका थिए । अङ्ग्रेजले बुटवल र स्युराजमाथि दावी गर्दा पटक पटक झडप भएका थिए । विशाल भारतमा आधिपत्य जमाएको अङ्ग्रेजले नेपाल अधिराज्यमाथि पनि आँखा गाडेको थियो । बुटवल र स्युराजमाथि आक्रमण गर्नुको उद्देश्य बुटवल र पाल्पा कब्जा गर्नु थियो । पाल्पा जितेर पश्चिम नेपाल र काठमाडौबीच सम्बन्ध टुटाएपछि काठमाडौमाथि आक्रमण गर्ने उद्देश्य थियो, अङ्ग्रेजको । बुटवलमाथि कब्जा जमाएपछि यस क्षेत्रको घना जङ्गलको दुर्लभ रुख वृक्ष प्राप्त गर्नु र बुटवल हुँदै तिब्बततर्फ व्यापारिक मार्ग विस्तार गर्नु अङ्ग्रेजको लक्ष्य थियो । पाल्पाको समशितोष्ण हावापानी भएको इलाकामा दरबार बनाई बस्ने र तराईको उब्जनीशिल फाँटमाथि कब्जा जमाउने लक्ष्य समेत थियो । दरबारहरु बनाउन बुटवल वरीपरिको घना जङ्गलमा सयौं वर्ष पुराना ठूल्ठूला रुख वृक्षहरु उपलब्ध थिए । यिनै काठपात हात पार्ने दाउ पनि थियो अङ्ग्रेजको । यिनै उद्देश्य लिएर वि.सं. १८७१ पुस १३ गतेका दिन अङ्ग्रेज जनरल सुलिभान उड युद्धको लागि बुटवल आइपुगे । उनीसँग अत्याधुनिक हातहतियारले युक्त फौज, तोप र पाल्पाली राजा पृथ्वीपाल सेनका मन्त्री तथा सल्लाहकार कनकनिधी तिवारीका बाबु छोराका साथमा रहेका पाल्पाली फौज समेत थियो । वि.सं. १८७१ पुस १५ गतेका दिन दुई पक्षबीच घमासान युद्ध भयो, बटौली गढीमा । इष्टइण्डिया कम्पनीको फौजको नेतृत्व गरेका जनरल उडले पाल्पामाथि आक्रमण गर्न दुई वटा बाटो रोजेका थिए । पहिलो बाटो पहाडै पहाड गएर नुवाकोट गढीलाई ध्वस्त पारी पाल्पा हान्ने र अर्को जीतगढीलाई ध्वस्त पारी हालको सिद्धार्थ राजमार्गको बाटो भई पाल्पा हान्ने योजना बनाएका थिए । पहिलो बाटोबाट जाँदा नुवाकोट गढीको वरीपरी तीन माइल सम्म खानेपानीको अभाव भएको जानकारी पाएपछि जनरल उड निराश भए । घना जङ्गलको बुट्यान भएर बाटो तय गर्नु पर्ने भएकाले अङ्ग्रेज फौजलाई सकस भयो । उडले बटौली गढीको रेकी गर्न पठाए । रेकी टोली किल्ला खाली जस्तो देखि फर्कन मात्रै लागेको थियो, किल्ला भित्रबाट गोलीको बर्षा भयो । एक दुई जना त्यहीँ ढले । अरु बाँचेर भागे । केही समय पछि उडले फौजलाई एकत्रित गरी दुई समूहमा बाँडे र एक समूहको नेतृत्व आफैले लिए । पुस १५ गते साँझ पख चार सय जवान अङ्ग्रेज फौजले जितगढीमा हमला ग¥यो । दुई पक्षको बीचमा घमासान युद्ध भयो । नुवाकोट गढीबाट सबुजको पाँच पट्टी (अन्दाजी २५० जना) र अरु जागिरे ढाक्रे गरी ७–८ सय जनाको लस्कर साथमा लिएर कर्णेल उजिर सिंह थपा जितगढीमा ओर्ली भित्रैबाट युद्धको नेतृत्व गरे । दाहिनेतिरबाट हमला गर्नेहरुको टोलीबाट सरदार सूर्य थापाले विरगती प्राप्त गरे । कुम्भेदान कृपासुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना र हुद्दा सिपाहीहरु समेत ५०–६० जवानले हातमा नाङ्गो तरबार लिएर गढीदेखि बाहिर निस्की दोहोरो तर्फबाट तरबार चलाउँदा कुम्भेदान कृपासुर थापा, लेप्टेन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, सबुजका हवल्दार रणसुर बानिया, जुठे बस्नेतहरुले २–३ सय अङ्ग्रेज फौजलाई मारेर आफूहरुले वीरगती प्राप्त गरे । नेपाली फौजतर्फ अन्दाजी ५०–६० जना जवान मारिए । जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना आदि हुद्दा सिपाहीहरुले अङ्ग्रेज फौजका धेरै जवानहरुलाई मारेर गढीमा फर्किए । लडाईमा अङ्ग्रेज फौजका बृगेड मेजर हैट र इन्जिनियरिङ्गका लेफ्टीनेन्ट मोरिशन नराम्ररी घाइते भए । युद्धमा अङ्ग्रेज तर्फका एक जना कर्णेल, पाल्पाली काजी कनकनिधी तिवारीका बाबु छोरा र अङ्ग्रेज फौजका ५–७ सय जना सिपाहीहरु मारिए । “युद्ध हतियारले होइन विचारले लडिन्छ” भन्ने दृढ अठोट लिएर मैदानमा उत्रिएको थियो, नेपाली सेना । नेपाली सेनाको साहस, वीरता, धिरता, रणकौशल, मनोबल र आत्मविश्वासलाई निकटबाट स्पर्श गरेको अङ्ग्रेज फौजले युद्धकला र युद्धनीतिमा नेपाली भन्दा आफु कमजोर भएको महसुस ग¥यो र युद्ध मैदान छोड्यो । पहिलो चरणको युद्धमा नेपालले अङ्ग्रेजलाई नराम्ररी हरायो । युद्धमा नराम्रो हार व्यहोर्नु परेपछि रन्थनिएका अङ्ग्रेज जनरल जोन सुलिभान उड चैत सम्म चुप लागेर बसे । उनले कर्णेल उजिरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको भन्ने चाल पाएपछि पुनः बुटवलमाथि आक्रमण गर्न १८७२ सालको बैशाख ७ गते बुटवल आइपुगे । अङ्ग्रेज फौजले बटौलीतिर तोपको गोला बर्साउन थाल्यो । १८ पाउण्डको गोला प्रहार गरी बटौलीको पखेरोमा रहेको दरबारलाई ध्वस्त पारीदियो । अङ्ग्रेज फौजले तिनाउ नदी पार गर्न लागेकै बेलामा बटौली गढीबाट गोलीको बर्षा गराईदियो नेपाली सेनाले । कुम्भेदान जयसुर थापाले अङ्ग्रेज फौजको पहिलो डफ्फालाई सखाप पारीदिए । अङ्ग्रेज फौजको भागाभाग भयो । जनरल उडले बटौली गढी अभेद्य किल्ला भएको अनुभव गरे । आफ्ना जासुसबाट सत्य सूचना पाउन नसकेका जनरल उडले सानो बस्तीका लागि धेरै ज्यानको बाजी लगाई युद्ध लडिरहनु उचित सम्झेनन् । त्यसैले आफ्नो फौजलाई युद्ध मैदान छोड्न आदेश दिए । यसरी दुई चरणका युद्धमा नेपाली सेनाले विजयश्री हासिल ग¥यो । अङ्ग्रेजको नेपालमाथि आधिपत्य जमाउने विस्तारवादी योजना यहींबाट अन्त्य भयो । बटौली गढीको नाम जीतगढी रहन गयो । जितेको खुसीयालीमा बटौलीदेखि तानसेन सम्म विजय उत्सव मनाइयो । सिङ्गो नेपाल अधिराज्यभरी खुशीको सञ्चार भयो । यही विजय उत्सवलाई स्मृति स्वरुप केही वर्ष यता निरन्तर बुटवलमा बैशाख ७ गते जितगढी विजयको वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाउन थालिएको छ । २०८० सालमा पनि भव्य समारोह आयोजना गरियो ।