पेट्रोलियम पदार्थको अब ‘नो चिन्ता’ !

दाङ, १-कार्तिक / इन्धनको अभाब भैरहेको बेला दाङमा सल्लाको खोटोबाट सवारी साधन चलाउन सकिने सफल परिक्षण गरिएको छ । घोराही नगरपालीका ११ निबासी युवा बैज्ञानीक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परिक्षण गर्नुभएको हो ।इन्धनको चरम अभाब भैरहेको वेला जंगलमा पाईने सल्लाको खोटोलाई प्रशोधन गरि सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परिक्षण भएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने उहाँले बताउनुभयो । मोटरसाईकलको पेट्रोल पाईपमा खोटोको इन्धनलाई बोतल मार्फत जडान गरि मोटरसाईकल चलाएर मार्सलले सफल परिक्षण गर्नुभएको हो ।
एक लिटर खोटोको इन्धनबाट एक सय किलोमिटर सम्म यात्रा गर्न सकिने रोकाले जानकारी दिनुभयो । साथै उक्त खोटोलाई प्रषोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाएर तयार पारिने इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँ मात्र पर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा मार्सलले अब छिट्टै ल्याव परिक्षण गरेर यसको प्रभावकारीतालाई व्यापक बनाउने योजना रहेको जानकारी दिनुभयो ।
योग प्राकृतिक चिकित्सक डा. लोकराज पराजुलीको अध्यक्षता एवं दाङका प्रहरी प्रमुख कुबेर कडायतको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको बिशिष्ट आतिथ्यतामा उक्त नयाँ प्रविधिका बारेमा जानकारी दिइएको हो । नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य प्रशान्त वलीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण ज्वाला खतिवडाले गर्नुभएको थियो । खबर/तस्बिर- तुल्सीपुर अनलाइन