बृद्धको सम्पत्ति हडप्न ज्यान लिने प्रयास गरेका बार कोषाध्यक्ष असफल


अभियुक्तले आफ्नो कब्जामा लिन चाहेको घर
लक्ष्मण पोखरेल बुटवल । पुनरावेदन बार एसोसिएसन बुटवलका कोषाध्यक्ष दीपक कार्की ज्यान मार्न खोजेको अभियोगमा पक्राउ परेका छन् । नाताले हजुरआमा पर्ने बुटवल–६ भानुचोक निवासी कमलादेवी थापालाई जेठ २७ गते दहीमा विषालु पदार्थ मिलाई खुवाउने प्रयास गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । ‘ज्यान मार्ने उद्योगमा आज (शुक्रबार) मुद्दा दर्ता भएको छ’, इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले भन्नुभयो– ‘अनुसन्धान प्रक्रियालाई अगाडि बढाइसकेका छौं ।’
अभियुक्त कार्कीलाई जेठ २७ गते पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । अभियुक्त कार्कीले आमाकी फुपू पर्ने हजुरआमालाई सम्पत्तिको लोभमा मार्ने प्रयास गरेको बुझिएको छ । हजुरआमा कमलादेवी थापाको नाममा रहेको कित्ता नम्बर ३७ (क) बिटौरी जग्गा ९ धुरमा बनेको तीन तले घर (सिद्धार्थ राजमार्गमा मोहोडा पर्ने नबिल बैंकको ठीक सामुन्नेको सेतो घर) आफ्नो बनाउने प्रयास गरेको बताइएको छ । पीडित कमलादेवीको नाममा रहेको सो घर झुक्याएर कार्कीले आफ्नी आमाको नाममा गराएका छन् । पीडित कमलादेवीले भन्नुभयो– ‘गएको पुसमा के के कागजमा औँठा छाप लगाउन पठाएका थिए, मैले आखाले नदेख्ने । घर पो आफ्नो नाममा गरेको रैछ ।’ कार्कीले जग्गा आफ्नो नाममा बनाएको बिहीबार मात्रै पत्ता लागेको हो । पीडित कमलादेवीका एक छोरा २० वर्षदेखि सम्पर्कमा छैनन् । एक छोरीको मणिग्राममा बिबाह भएको छ । गएको चैतमा श्रीमान् गुमाएकी कमलादेवीलाई यसअघि पनि मार्ने प्रयास भएको घरमा सेवा गर्दै बसेकी दिलमाया थापाले बताउनुभयो । कमलादेवीका श्रीमान् भूपू भारतीय सेनाका क्याप्टेन हुन् । जेठ २६ गते गोजीमा सिसाका साना बट्टा लिएर आएका अभियुक्त कार्कीले २७ गते कमलादेवीले खाने दहीको कचौरामा कालो पदार्थ राखेका थिए । ‘मलाई माथि फूल टिप्न पठाएर फ्रिज खोलेर दहीमा विष हाल्नुभएछ, मैले तल झरेर दहीमा कालो देखेपछि हजुरआमालाई नखान भने’, दिलमाया थापाले भन्नुभयो । दहीबाट नराम्रो गन्ध आएपछि दिलमायाले घरको सटरमा बस्नेहरुलाई देखाउनुभएको थियो । त्यसलगत्तै प्रहरी आएर कार्कीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि अभियुक्त कार्कीले सुसारे दिलमायालाई धम्काएका थिए । ‘पख तँलाई के के गर्छु भन्दै धम्कायो, पीडित कमलादेवीले भन्नुभयो– ‘यिनी नानी (दिलमाया) नभएको भए मलाई मार्ने रैछ ।’ अभियुक्त कार्कीले घर जग्गाका सबै कागजपत्र आफै लगेको कमलादेवीले बताउनुभयो । घरमा रहेको सुन, पैसासमेत चोरी भएको उहाँको आरोप छ । बुटवल–९, दीपनगर घर भएका कार्कीले हजुरआमाको जग्गा आफ्नो आमाको नाममा बनाएको प्रहरी समक्ष स्विकार गरेका छन् । यसअघि कमलादेवीको जग्गा देवरका छोरा बुटवल–७ अमरपथ बस्ने करणजंग थापा, रमेशजंग थापाले आफ्नो नाममा बनाएका थिए । २०६६ माघ १० गते उनीहरुले जग्गा आफ्नो नाममा गराएका थिए । कमलादेवीले आदलतमा मुद्दा दायर गरेपछि २०७० भदौ २७ गते जिल्ला न्यायाधीशको रोहबारमा फिर्ता गर्न मिलापत्र भएको थियो । पालन पोषण र संरक्षण गर्ने र आफ्नो शेखपछि जग्गा दिने भनिए पनि देवरका छोराले झुक्काएर घरजग्गा पास गरेको कमलादेवीले बताउनुभयो ।
आफ्नो नाममा जग्गा पास भएको कागजपत्र समेत बुझ्न नपाएकी कमलादेविलाई संरक्षण गरेको बाहानामा ललाईफकाई कार्की परिवारलो घरजग्गा आफ्नो नाममा गराएका हुन् । ‘मारेपछि त सम्पत्ती आफ्नै नाममा हुन्छ भनेर विस खुवाउन खोजेका होला, पीडित कमलादेविले भन्नुभयो । ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा चलाइएका अभियुक्त कार्कीलाई बचाउनका लागि बिभिन्न क्षेत्रबाट प्रयास भएको प्रहरी स्रोतले जनाएको छ । पुनराबेदन वार एसोसिएसनका पदाधिकारीहरु प्रहरी कार्यालयमा पुगेर घटनाको जानकारी लिएका थिए । कांग्रेसका केही नेताहरु घटनालाई मिलापत्रमा मिलाउने प्रयासमा रहेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्ष घिमिरेले ज्यान मार्ने प्रयास भएको अभियुक्तलाई मिलापत्रमा छोड्न नसकिने बताउनुभयो । ‘अपराध अपराधै हो, कोही कतैबाट दवाव हुदैमा छोड्ने कुरा हुदैन, उहाले भन्नुभयो । जग्गा, पैसा तथा सुनचादी हिनामिनको घटनालाई एकै साथ अनुसन्धान गर्दै लगिने उहाले बताउनुभयो ।