देशमा अनिष्टको सङ्केत, भीमसेनको शिलामा पसिना

भगवान भीमसेनको शिलामा सात वर्षपछि फेरि पसिना आएको छ। ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने बुढा पुराना मानिसहरु विश्वास गर्छन | 
भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ। यसपटक भीमसेनको शिलाको शिरबाट तीनधारा हुँदै पसिना आएको छ। भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको स्थानीयवासीको भनाइ छ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो। त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको गुठियार डम्बरबहादुर श्रेष्ठ बताउछन् ।
गुठियार श्रेष्ठले भन्नुभयो, “दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो।
त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो। २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो। २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको भनाइ छ।
त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो। त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो। २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो।
त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो। पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो। त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो। २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो।
तत्पश्चात सातवर्षको अन्तरालमा फेरि अहिले निरन्तर शिरबाट तीनधारा हुँदै पसिना आएको खबर छ। यसरी पसिना आउदा पसिना आएको ६ महिनाभित्र मुलुकमा अनिष्ठ भएको सङ्केत देखा पर्दै आएकाले अब के हुन्छ भन्ने चिन्ता र चासो आम नागरिकमा रहेको छ।
विगतका दिनमा पसिना आउँदा कवासले पसिना पुछि दरबारमा पुर्याउने प्रचलन रहेको थियो र दरबारमा पुर्याइएपछि स्थानीय प्रशासनको सहयोगमा पुनः भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि दरबारबाट मानिसहरू आई क्षमा पूजा गर्ने परम्परा रही आएको थियो।
यसपटक भने भीमसेनको शिलामा आएको पसिना स्थानीय प्रशासनमार्फत राष्ट्रपति कार्यालय पठाइने व्यवस्था मिलाइएको गुठियार श्रेष्ठले जानकारी दिएका छन् ।