
उमेरले डाँडापारीको घामजुन भइसकेका यादव यो सहित ४६ पटक फेल भए । तर, उनले अझै हिम्मत हारेका छैनन् । बीबीसीका अनुसार राजस्थानस्थित अलबरको खोहरी गाउँका शिव चरण यादव यस पटक पनि सामाजिकबाहेक अन्य सबै विषयमा फेल हुन पुगे ।
यो पटक उनले अंग्रेजीमा शन्य नम्बर पाएका छन् । खोहरी गाउँका डाक्टर नरेश यादवका अनुसार शिवचरण धेरै मेहनेत गरेर पढ्छन् तर हरेक पटक फेल हुन्छन् ।
शिवचरण अविवाहित छन् । गाउँका मानिसका अनुसार १० कक्षाको परीक्षा पास गरेर मात्रै बिहे गर्ने कसम खाएका शिवचरण परीक्षा दिँदादिँदै बुढा भए । तर, न त उनी अहिलेसम्म १० कक्षा पास भए न नै उनले बिहे नै गर्न सके ।

गाउँलेका अनुसार उनको परिवारमा अब उनीमात्र बाँकी छन् । अहिले उनी मन्दिरमा बस्ने गरेका छन् । शिवचरणको परीक्षा शुल्क गाउँलेले नै दिने गरेका छन् ।
'जुन विषयमा शिवचरणको सबैभन्दा कम नम्बर आउँछ । उनी त्यो विषयमा अघिल्लो पटक राम्ररी पढ्छन्', खोहरी गाउँका डा. नरेश भन्छन्, 'उनी त्यसमा पास हुन्छन् तर अरु बाँकी विषयमा उनी फेल भइजान्छन् ।'
संसारमा हर कोही आफ्नो गन्तब्यका लागि कदम बढाइरहन्छन् । शिवचरणका लागि दशौं कक्षाको अंकतालिका नै जिन्दगीको एउटा गन्तब्य बन्न पुगेको छ ।-अन्नपूर्णपोस्ट