फडिण्द्र भट्टराई, लन्डन, जेठ २६
गुणस्तरीय खाना तथा ग्राहकको सेवामार्फत् ख्याति कमाउन सफल माउण्टेन भिउ
रेस्टुरेन्टले करी ओस्कारको रुपमा चिनिने करी लाईफ बिजिनेस अचिभमेन्ट
अवार्ड हात पारेको छ।
लण्डनको पार्क प्लाजा होटलमा आयोजित बिशेष समारोहबीच
रेस्टुरेन्टका प्रोप्राइटर दाशु पाण्डेलाई अवार्ड प्रदान गरियो । हजारौ
प्रतिष्पर्धीहरुबाट छानिएका रेस्टुरेन्टहरु मध्ये यो अवार्ड हात पार्ने
माउण्टेन भिउ एक मात्र नेपाली रेस्टुरेन्ट हो । करीब छ सयको संख्यामा
निम्त्याइएका विशिष्ट पाहुनाहरुको उपस्थिति रहेको उक्त समारोहमा
रेस्टुरेन्टसंग सम्बद्द आफन्तजन सहित केही नेपाली पत्रकारहरु समेत सहभागी
भएका थिए । उक्त समारोहमा बेलायती संसदमा प्रमुख प्रतिपक्षी लेबर पार्टीकी
नेत्री टेसा जोयल, बेलायती संसदको होम अफेयर्स सेलेक्टकमिटिका चेयरम्यान
किथ भाज लगायत थुप्रै मन्त्री, सांसद तथा उच्च सरकारी ओहोदाका विशिष्ट
व्यक्तित्वहरुले समेत मन्तव्य दिएका थिए ।‘कामप्रतिको निरन्तर लगाव नै
सफलताको कारक बन्दो रहेछ, यो प्राप्तिलाई पनि मैले त्यहि रुपमा लिएको छु,’
अवार्ड पाएपछि होटलकै मिडिया डेस्कबाट संक्षिप्त प्रतिक्रियामा पाण्डेले
भने। नेपालको गुल्मी जिल्ला घर हुने पुरस्कृत पाण्डे वर्षौदेखि लन्डनमा
रेस्टुरेण्ट व्यवसायमा संलग्न छन्।गुल्मी जिल्ला समाज युकेका सल्लाहकार
रहेका पाण्डे गैर आवासीय नेपाली संघ बेलायतका सचिव हुन । बेलायतका
नेपाली समुदायबीच पनि निकै सामाजिक र सक्रिय रहने गरेका छन्।
रेस्टुरेन्टसँगै आवद्द रोमनाथ पाण्डेले ब्यवसायको लागि यो अत्यन्तै खुसीको
क्षण भएको बताए। लन्डनमा माउण्टेन भिउ रेस्टुरेण्टका दुई वटा शाखा
संचालनमा छन्।बेलायतमा रहेका करीब आठ हजार इण्डियन रेस्टुरेण्टहरु मध्ये
नेपाली र इण्डियन परिकारहरु पस्किने दुई सय भन्दा बढी रेस्टुरेण्ट नेपाली
व्यवसायीद्वारा संचालित छन। नेपाली स्वादप्रति बेलायतीको क्रेज बढदै
गरएकाले रेस्टुरेण्ट व्यवसायको रुपमा धेरै नेपाली सफल र स्थापित बन्दै
गईरहेका छन्। यहाँका नेपाली रेस्टुरेण्ट बिदेशमा स्वदेशी खानाका परिकार
मार्फत् देशको पहिचान झल्काउने माध्यम समेत बन्ने गरेका छन ।