सुशील, केपी र प्रचण्डलाई पत्र

आदरणीय नेतात्रय,
आज म बडो ठूलो आशा र भरोसासाथ तपाईंहरू तीनैजनालाई एकसाथ सम्बोधन गरेर सार्वजनिक रूपमा यो पत्र लेख्दै छु । आशा छ, अलिकति फुर्सद निकालेर यसलाई पढिदिनुहुनेछ र थोरै नै भए पनि मनन गरिदिनुहुनेछ । हुन त मैले यसरी पत्र नै लेख्नुपर्ने त्यस्तो गम्भीर कारण त केही थिएन ।
तैपनि, यतिखेर देश संविधान निर्माणको संघारमा रहेको र भूकम्पले ल्याएको पीडामा छट्पटाइरहेको अवस्थामा धेरै विचार, धेरै क्षेत्र, धेरै दर्शन र धेरै जनताको प्रतिनिधित्व गर्ने धेरै साथी अटाउने र वैचारिक मन्थनसमेत हुने संविधानसभाको ढोका लामो समयसम्म बन्द गरेर सानो र पुरानै कोठा, सानो समूह, उही पुरानै व्यक्ति, पुरानै विचार र सीमित घेराका मान्छेसित छलफल हुँदै छ भन्ने सुनेको हुनाले भूकम्पीय विनाशपछिको विपत्तिको घडीमा हामीले के गर्दा राम्रो हुन्छ र के गर्नु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा सानो सुझाब दिने उद्देश्यले यो पत्र लेख्दै छु । दोहोरो संवादका ढोका बन्द भइरहेको वेलामा एउटा जनप्रतिनिधिको हैसियतले राष्ट्रिय विषय र छलफलका केही कुरा यस पत्रका माध्यमबाट सार्वजनिक रूपमा राख्न खोजिरहेको छु । हामीले बारम्बार भन्दै आएका थियौँ, प्राकृतिक सुन्दरताका दृष्टिले नेपाल संसारकै सुन्दरतम देशमध्ये एक हो । प्राकृतिक सुन्दरताका साथै धर्म, संस्कृति, परम्परा र मानवीय भावनाका आधारमा पनि नेपाल साँच्चै सुन्दर छ । ऐतिहासिक वीरतापूर्ण बलिदानका आधारमा पनि नेपाल गौरवलायक छ । हामी नेपालीले मात्र हाम्रो देशप्रति गर्व गरेका होइनौँ, विदेशीले पनि यहाँको प्रकृति, यहाँका कला, संस्कृति, रीतिरिवाज, परम्परा, ऐतिहासिक बहादुरी आदिको खुलेर प्रशंसा गरेका छन्, उनीहरूले पनि गर्वको अनुभूति गरेका छन् । उनीहरूले नेपाली जनताको मिहिनेत र परिश्रमको पनि उत्तिकै कदर गर्ने गरेका छन् ।
आदरणीय नेतात्रय, 
पुग–नपुग पौने तीन करोड जनसंख्या भएको देशका जनताले किन दु:ख पाउँदै छन्, उनीहरू किन विदेशी भूमिमा पसिना बगाउन विवश भइरहेका छन्, किन झन् झन् गरिब हुँदै गएका छन् ? सम्पूर्ण स्रोत र साधन हुँदाहुँदै पनि हामी किन कमजोर हुँदै छौँ, किन हामी प्रगतिको लिस्नो चढ्न सफल भइरहेका छैनौँ ? यस्ता प्रश्नबारे यस पंक्तिकारले पटक–पटक कलम चलाएको छ, प्रत्येक फोरममा आफ्नो विचार राखेको छ । न यस पंक्तिकारका कुरा तपाईंहरूले कहिल्यै सुन्नुभयो, न त यस्ता प्रश्नको जवाफ दिनै आवश्यक सम्झनुभयो । आखिर किन ? के यी प्रश्नको कुनै मूल्य नै छैन त ? हामी सबै यिनै प्रश्नको जवाफ तपाईंहरूबाट पाउने आशमा अल्मलिइरहेका छौँ । यही अलमलबीच हाम्रो देश विनाशकारी भूकम्पको चपेटामा फसेको छ । भूकम्पले देशका विभिन्न स्थानमा ठूलो विनाशलीला मच्चाएको छ । ठूलो धनजनको क्षति भएको छ । तर, भूकम्पले हामीलाई एउटा सन्देश पनि दिएर गएको छ । हामीले जीवनभर परिश्रम गरेर आर्जन गरेको सानोतिनो पुँजी उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुको साटो सुरक्षित वासका रूपमा घर निर्माणमा खर्चियौँ । घर निर्माण गर्दा हामीले न माटो परीक्षण गर्न आवश्यक सम्झियौँ, न त डन्डी र सिमेन्टको गुणस्तरमै ध्यान दियौँ । न त हामीले निर्माण गर्न लागेको घर प्राविधिक दृष्टिले पूर्णत: ठीक छ कि छैन भनेर इन्जिनियरिङ परीक्षण गर्नु नै जरुरी सम्झियौँ । हामी जनताको सानो लोभ र नेपाल सरकारको कमजोर नियमन र अक्षमताका कारण देशमा बनेका कानुन कार्यान्वयनसमेत हुन नसक्दा आज भूकम्पका कारण हाम्रो जीवनभरको सपना निमेषभरमै गल्र्यामगुर्लुम ढल्यो । आज राज्यको लाचारीका कारण, फितलो कानुन कार्यान्वयनका कारण, घुस खाएर घर निर्माणमा स्वीकृति दिने कर्मचारीतन्त्रका कारण, घुस ख्वाई–ख्वाईकन आफ्नो घर आफैँ कमजोर बनाउने हाम्रै कारण हाम्रो जीवनभरको कमाइ माटोमा मिलेको छ, हामी सबै छिनभरमै कंगाल भएका छौँ । हामीले यो देश सञ्चालनका लागि निकै राम्रा नीति–नियम बनाएका थियौँ, यो देशको प्रगतिको जिम्मा लिएका थियौँ । देशका राष्ट्रप्रमुखदेखि कार्यकारी प्रमुख बस्ने आवास निर्माण गर्दासम्म हामीले कत्ति पनि सचेतता अपनाएका रहेनछौँ । हामीले निकै मोटो धनराशि खर्चेर सिंहदरबारभित्र ठड्याएका भवन तासका महलझैँ गल्र्यामगुर्लुम ढलेको घटनाको साक्षी हामी स्वयं बन्नुपर्‍यो । आखिर नीति–निर्मातादेखि सर्वसाधारणसम्म लोभीपापी बनेर राज्यलाई ठगेपछि सबै ठगैठग भएको देशका रूपमा हाम्रो देश चिनिने पो हो कि भन्ने गम्भीर चिन्ता बढेर गएको छ । हाम्रो देश स्रोत र साधनले सम्पन्न हुँदाहुँदै पनि किन यसरी कमजोर हुँदै छ, किन झन्झन् गरिब हुँदै छ, किन जनताले सुख पाउन सकेका छैनन् भन्ने सम्बन्धमा अहिलेको भूकम्पले हामीलाई जवाफ दिएर गएको छ । भूकम्पकै कारण हामीले हाम्रो प्रत्येक क्षेत्रको नेतृत्वलाई प्रस्टसँग चिन्ने मौका पाएका छौँ । यो भूकम्पले हामीलाई निकै ठूलो पाठ पढाएको छ । 
आदरणीय नेतात्रय, 

अहिलेको भूकम्पले ल्याएको तहसनहसकारी विनाशपछि यो देशलाई कसरी निर्माण गर्ने, बढी प्रभावित जिल्लामा कसरी निर्माण कार्यलाई अघि बढाउने, चिराचिरा परेका इलाका जहाँ अझै पनि जनता जोखिमपूर्ण अवस्थामा बसिरहेका छन्, तिनलाई सुरक्षित रूपमा कसरी स्थानान्तरण गर्ने, यसबारे तपाईंहरूले अझैसम्म किन घनीभूत छलफल गर्न सकिरहनुभएको छैन ? किन पुनर्निर्माणको खाका कोर्न सकिरहनुभएको छैन ? अचम्म लागिरहेको छ । सरकारमा बस्नेहरूले आफ्ना जनतालाई कसरी सुरक्षित गर्ने भन्नेबारे कुनै योजनासम्म ल्याउन नसक्नु वा जनतालाई आश्वस्त पार्न नसक्नुभन्दा ठूलो विडम्बना अर्को के हुन सक्छ ? आज हामीले तिब्बतीलाई नेपालमा प्रवेश दिएर सानदार रूपमा पालिराखेका छौँ । भुटानी शरणार्थीलाई हामीले वर्षौंसम्म पालेकै हौँ । यतिखेर भूकम्पपीडित नेपालीलाई क्यानडाले रोजगारी दिन्छु, हामीकहाँ आऊ भनिरहेको छ, तर हाम्रा केही शक्ति भने नेपालकै भूमिभित्र पहाडेलाई अर्को कुनै अमुक स्थानमा राख्न पाइँदैन भनेर खबरदारी गरिरहेका छन् । आमजनताको सुरक्षाको जिम्मेवारी कसको हो ? जनतालाई सुख, शान्ति र अमनचैनको अनुभूति गराउने दायित्व कसको हो ? आखिर यसबारे सरकार र सरकारमा बस्ने जिम्मेवार व्यक्तिले किन कुनै निर्णय गर्न सकिरहेका छैनन् ? यहाँ कुनै सरकार छ कि छैन ? तपाईंहरू सबै जनताकै नेता हो कि होइन ? हामीसामु उभिएका यस्ता प्रश्नको जवाफ तपाईंहरूबाटै पाउने आशामा जनता तपाईंहरूतिरै फर्किरहेका छन् । त्यसैले पनि यहाँनेर भन्नैपर्ने भएको छ, हामी सम्पूर्ण जनताले मानेका तपाईं नेतात्रयलाई सोध्नैपर्ने भएको छ, सम्पूर्ण नेपाली जनताको सुरक्षा गर्ने दायित्व तपाईंहरूको हो कि होइन ? नेपाली जनतालाई सुरक्षित स्थानमा बसोबास गराउने दायित्व पनि तपाईंहरूकै हो कि होइन ? यस्ता प्रश्न हरेक नेपालीले यहाँहरूलाई सोधिरहेका छन् । आज भूकम्पका कारण पहाड चिरिएको छ । भोलि यिनै चिरिएका पहाडका कारण तराई डुब्नेछ, पुरिनेछ । यस्तो अवस्थामा तराईका जनतामाथि आइपर्न सक्ने सम्भावित जोखिमबाट जोगाउने दायित्व यहाँहरूको हो कि होइन ? यस्ता यक्ष प्रश्न सबैले आ–आफ्नो स्थानबाट तपाईंहरूसामु उठाइरहेका छन् । तपाईंहरूले कसको प्रतिनिधित्व गरिरहनुभएको छ ? नेपाली जनताले यो ठाउँमा बस्न पाउँछ, यो ठाउँमा बस्न पाउँदैन भन्ने को हो ? प्रजातन्त्र भनेको जे मन लाग्यो, त्यही बोल्ने र गर्ने छुट होइन । त्यसैले जनताबाट तिरस्कृत, अमुक क्षेत्रको प्रतिनिधि हुँ भनी जनतालाई सुरक्षित ठाउँमा राख्न पाइन्न भनी औँलो ठड्याउने को हो ? यतिखेर देश संविधान निर्माणको चरणमा छ । यो देशको प्राथमिकताको विषय पनि हो । त्यसैले पनि अब हामीले छिटोभन्दा छिटो संविधान निर्माण गर्नैपर्छ । अहिलेको विनाशलाई हामीले अवसरका रूपमा लिन जान्यौँ भने यसले हाम्रो देशको नवनिर्माणको ढोका खोल्न पनि सक्छ । भूकम्पीय विनाशसँगै हामीले संविधान पनि बनाउनु छ । त्यसका निम्ति तपाईं हामी सबै जिम्मेवार छौँ । सरकार प्रमुखका रूपमा, सत्ता साझेदार दलका नेताका रूपमा र प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा तपाईंहरू नै बढी जिम्मेवार हुनुहुन्छ । अब हामी कसैको लहैलहैमा दौडिनु हुँदैन । आज पहिचानका नाममा, सामथ्र्यका नाममा, नेताका नाममा, कसैको गोटी बन्ने नाममा, कोही अमुक व्यक्तिको नाममा वा पहुँच र सहजताका नाममा नेपालमाथि आघात पार्ने काम कसैबाट हुनु हुँदैन । यसका साथै नेपाललाई दीर्घकालीन नकारात्मक असर पार्ने काम कोही कसैले गर्नु हुँदैन । हामीले बारम्बार भन्दै आएका छौँ, इलामको पहुँच झापा, झापाको पनि कुन ठाउँ रोज्ने र कसलाई रोज्ने भन्ने निर्णय जनताले नै गर्न पाउनुपर्छ । सुनसरीको सहजता धनकुटा, सोही क्षेत्रका जनता र कोसी, सिराहा तथा सप्तरी नै हुन् । सिन्धुलीको सम्बन्ध धनुषा, महोत्तरीसितै गाँसिने हो । त्यसैगरी गुल्मी, पाल्पा वा अर्घाखाँचीको सहजता रुपन्देही, कपिलवस्तु वा नवलपरासी नै हुन् । सुर्खेत, बाँके, बर्दियाको साइनो दैलेख, कालिकोट, जुम्ला र हुम्लासितै जोडिने हो । त्यसैगरी कैलाली, कञ्चनपुरको सम्पर्क डोटी, डडेल्धुरा र दार्चुलासितै हुने हो । यस्तो प्राकृतिक लेनदेन र प्राकृतिक सहवासलाई विखण्डन गर्ने र तोड्ने अधिकार कसैलाई पनि छैन । अब देशमा तोडफोडको राजनीति चल्न सक्दैन । यसका लागि पनि तपाईं नेतात्रय नै जिम्मेवार हुनुपर्छ । यतिखेर तपाईंहरू ठूलो घरलाई बन्द गरेर सानो कोठा खोज्दै हुनुहुन्छ । धेरै साथीहरूको समूहलाई छाडेर ससाना झुन्डमा रमाइरहनुभएको छ । यो सब कसका लागि किन भइरहेको छ ? यो सब राष्ट्र र जनताको हितका लागि हो कि अरू नै कसैको हितका लागि भइरहेको छ ? तपाईंहरू आफ्नै दृष्टिकोणले अघि बढिरहनुभएको छ कि, तपाईंहरूमाथि कुनै दबाब छ ? तपाईंहरूका वरिपरि राखिएका झुन्ड तपाईंहरूका सहयोगी हुन् कि सल्लाहकार हुन् वा तपाईंहरूका टाउमाथिका पत्थर हुन् ? यो पनि गम्भीर प्रश्न बनेको छ ? किन निकास निस्कँदैन ? भित्री स्वार्थ के हो ? पर्दापछाडि के छ ? अन्त्यमा, यतिखेर जोडतोडले सर्वदलीय, सहमतीय सरकारको आवाज उठिरहेको छ । अब राष्ट्रहित, जनताको सुरक्षा, जोखिममा रहेका बस्तीमा बसोबास गरिरहेका जनताको पुनस्र्थापना र आगामी बर्खामा हुन सक्ने सम्भावित जोखिमलाई सम्बोधन गर्न र माथिका कुरामा सहमति भएमा यतिखेर सर्वदलीय, सहमतीय सरकार अत्यावश्यक छ । अहिले जनतालाई एकजुट बनाएर राष्ट्र निर्माणमा जुट्नै पनि सबैको सहमतिमा सर्वदलीय सरकार बन्नु जरुरी छ । यतिखेर सबैभन्दा ठूला दुई दल कांग्रेस र एमाले सरकारमा छन् । उनीहरूको साथमा दुईतिहाइ बहुमत पनि छ । तर, त्यो सब हुँदाहुँदै पनि संविधान बन्न सकिरहेको छैन । राष्ट्र यतिखेर गम्भीर संकटमा छ । भूकम्पले देशमा गम्भीर क्षति गरेको छ । विनाशपछिको पुनर्निर्माण कसरी गर्ने, प्रभावित क्षेत्रका जनतालाई कसरी सुरक्षित बनाउने, जोखिममा रहेका बस्तीको कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा कुनै निर्णय हुन सकिरहेको छैन । हामी सबै किन यसरी किंकर्तव्यविमूढ बनिरहेका छौँ । यसरी त न संविधान नै बन्छ, न त जनताकै सुरक्षा सम्भव छ । यदि दुईतिहाइले पनि कुनै निर्णय नै गर्न नसक्ने हो भने अब माओवादीसहितका शक्तिलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प छैन । देशसामु विद्यमान चुनौतीहरूको सामना गर्न माओवादीलाई स्थान दिनैपर्छ । माओवादीलाई बन्दी बनाउने घेराबाट उसलाई बाहिर निकाल्नैपर्छ । तब मात्रै नेपालको संविधान जनताको अनुकूल हुन सक्छ, बर्खाअगावै भूकम्पबाट प्रभावित जनताको सुरक्षा हुन सक्छ । यो लामो समयको बुझाइ र अनुभवबाट निस्केको परिणाम हो । तसर्थ आदरणीय नेताहरूलाई निवेदन गर्न चाहन्छु, सेक्सपियरले भनेका थिए, तिम्रो भौतिक शरीर राप र ताप रहुन्जेल तिमीले नमस्ते त पाउलाऊ, तर तिम्रो भौतिक शरीरको अन्त्यपछि कसले सम्झने ? यसैलाई आधार मानेर काम गर्नुपर्छ । नेतात्रयसित यही निवेदन छ । 
उही तपाईंहरूकै चन्द्र भण्डारी सभासद्, गुल्मी—२