भूकम्पकाे धक्का अझै तीन महिनासम्म आउँछन्ः भूगर्भविद

चितवन, गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भुगर्भविद प्राडा हरिहर पौडेलले बताएका छन् । नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूगर्भविद पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन भएको बताए ।
ठूलो भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आइरहने र यसपटकको ७।६ रेक्टरको भूकम्पले कम्तीमा पनि तीन महिना पराकम्पन ल्याउने बताए । भूकम्पभन्दा ठूलो पराकम्पन आउन नसक्ने बताउँदै उनले सोही क्षेत्रमा साना पराकम्पनहरु मात्र आइरहने उल्लेख गरे ।

उनले पराकम्पन भूकम्पको क्षमताभन्दा एक रेक्टरभन्दा कमका मात्रै हुने बताए । ठूलो भूकम्पपछि वैशाख २९ गते ट्रिगर पराकम्पन आउनुको पछाडि त्यस क्षेत्रका जमिन धेरै चिरिएको र भूकम्पले थप हलचल मच्चिनु प्रमुख कारण भएको उनले बताए । यसअघि सन् १८९० को अगस्त २६ मा गोरखा नै केन्द्रबिन्दु भएको ७।६ रेक्टर स्केलको भूकम्प जाँदा गोरखादेखि काठमाडौँ हुँदै सिन्धुपाल्चोकसम्म ठूलो क्षति पु¥याएको बेलायती गजेटमा उल्लेख भएको बताउँदै उनले जसका कारण तीन महिनासम्म पराकम्पन आएको बताए । अहिलेको भूकम्प पनि सोही स्केलको भएकाले तीन महिनासम्म नै पराकम्पन जाने उनले बताए।

त्यस्तै, विसं १९९० साल माघ २ गते उदयपुरमा केन्द्र भएर गएको ८.४ रेक्टरस्केलको भूकम्पले काठमाडौँदेखि भारतको दरभङ्गा, मोतिहारीसम्म ठूलो क्षति पु¥याएको बताउँदै भूकम्पविद् पौडेलले त्यसपछि एक वर्षसम्म पराकम्पन आएको बताए । त्यस्तै, २०४५ साल भदौ ५ गते उदयपुर नै केन्द्र बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पपछि ३९ दिनसम्म चार रेक्टरभन्दा माथिका पराकम्पन गएको उनले बताए ।

नेपालको मध्य र पूर्वी क्षेत्रमा भूकम्प, ट्रिगर कम्पन र पराकम्पनले शक्ति घटाइरहेको भए पनि मध्य नेपालदेखि पश्चिम भागमा २०० वर्षयता ठूला भूकम्प नगएको हुँदा शक्ति सञ्चय बढी भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम देखिएको बताए । हिमालय क्षेत्र भूकम्पका हिसाबले बढी जोखिम भएको बताउँदै पौडेलले हिमालय क्षेत्रको दुई हजार ५०० किलोमिटरमध्ये ८०० किलोमिटर नेपालमा पर्ने र सो क्षेत्रमा भारतीय र तिब्बती प्लेट ठोक्किइरहेको हुँदा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको उनले बताए ।