
भूकम्पले क्षति पु¥याएका हनुमान ढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, स्वयम्भूनाथलगायतका विश्वसम्पदा सूचीमा सूचीकृत स्थल भूकम्प यता सुरक्षाका कारण बन्द गरिएकामा ती स्थल आगामी जेठ ३२ देखि खुला गर्ने तयारी गरिएको हो ।
सम्पदा क्षेत्रहरु भूकम्पका कारण केही मात्रामा क्षति भए पनि पूर्णरुपमा क्षतिग्रस्त नभएको र सम्पदा क्षेत्रका भत्किएका संरचना सफा गरी पर्यटकलाई अवलोकन गराउन सकिने भएकोले त्यसको तयारी तीव्र बनाइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी गराए ।
पुरातत्व अधिकृत देवेन्द्र भट्टराईका अनुसार स्वयम्भू क्षेत्रमा पर्यटकलाई निश्चित स्थान तथा बाटोसमेत निर्धारण गरी सुरक्षितरुपमा अवलोकन गर्ने व्यवस्था मिलाउनका लागि काम भइरहेको छ ।
हनुमान ढोका दरबार हेरचाहा कार्यालयका प्रमुख सरस्वती सिंहले हनुमान ढोका दरबारमा पर्यटकलाई सुरक्षित अवलोकन गराउने व्यवस्थाका लागि सरसफाइलगायतका काम तीव्ररुपमा अघि बढाइएको बताए ।
राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले यही जुन १५ बाट पर्यटकका लागि खुला गर्ने तयारीस्वरुप भक्तपुर दरबार क्षेत्रमा भत्किएका संरचनाको सरसफाइ कार्य भइरहेको जानकारी गराए । रासस