पत्रकारिताको ‘कखरा’ र काठमाडौँको अनुभव
मैले पत्रकारिताको कखरा काठमाडौँस्थित दलित सेवा संघ बाट सिकेको हुँ, जहाँ विशेष गरी लेखन पत्रकारिताको आधार तयार भयो। २०५२ सालपछि रेडियो नेपाल को ‘दलित जनजागरण’ कार्यक्रममा
स्वर्गीय मिना स्वर्णकार र शारदा विश्वकर्मा सँगै मेरा समाचारहरू पनि गुन्जिन थाले। पछि श्रम साप्ताहिक को डेस्कमा बसेर काम गर्ने अवसर मिल्यो। मेरो खोज पत्रकारिताको यात्रालाई डोर्याउने र प्रोत्साहित गर्ने मुख्य श्रेय प्रधानसम्पादक रमेश पण्डित ‘तुफान’ ज्यूलाई जान्छ। उहाँ नै मेरो पत्रकारिताको जग बसाल्ने गुरु हुनुहुन्छ।
गुल्मी फिर्ती र एउटा नयाँ मोड
२०६४ सालमा जब म गृहजिल्ला गुल्मी फर्किएँ, तब मेरो एउटा खोजमूलक सामग्रीले तत्कालीन कान्तिपुर दैनिक का गुल्मी संवाददाता (हाल उप-सम्पादक) घनश्याम गौतम को नजर तान्यो। उहाँसँगको सल्लाह र रेडियो रेसुङ्गा का समाचार प्रमुख भरत पाण्डे सँगको सामीप्यले मेरो पाइला गुल्मीमै रोकियो।
काठमाडौँ फर्किने सोचमा रहेको मलाई स्रोताको अपार मायाले भन्यो— “तँ नजा, तेरो भविष्य यतै छ।” रेडियोमा मेरा रिपोर्टहरू घन्किन थालेपछि मेरो आवाजलाई सबैले मन पराइदिनुभयो। त्यही उत्साह र मायाको जगमा दोस्रो वर्षदेखि जन्मियो— ‘ओझेलका खबर’।
विगतका ती रेडियोका दिन
एउटा समय थियो, गाउँमा रेडियो नै सूचनाको मुख्य स्रोत थियो। अहिलेको जस्तो सामाजिक सञ्जाल थिएनन् र सबैको घरमा रेडियो पनि हुँदैनथ्यो। ‘ओझेलका खबर’ प्रसारण हुने साँझ कहाँ बसेर सुन्ने भन्ने निर्णय दिउँसै मेलापात र पँधेरामा हुन्थ्यो। फलानोको घरमा सुन्ने सल्लाह भएपछि साँझ दलानभरि गुन्द्री ओछ्याइन्थ्यो, कहिले त आँगनमै बसेर पनि सुनिन्थ्यो।
त्यो सामूहिक सुनाइ, त्यो आत्मीयता र रेडियोप्रतिको अगाध स्नेह आज पनि मानसपटलमा ताजै छ।
न डरायौं, न विचलित भयौं
हामीले जब ‘ओझेलका खबर’ सुरु गर्यौं, समाजका थिचिएका र दबिएका आवाजलाई प्राथमिकता दियौं। अन्याय, अत्याचार र शोषणका विरुद्ध हामीले शब्दहरूलाई कहिल्यै कमजोर हुन दिएनौं। खोजमूलक पत्रकारिताको यो बाटोमा धेरै धम्कीहरू आए, तर हामी विचलित भएनौं।
२०६४ सालदेखि निरन्तर जारी यो यात्रामा आजसम्म कसैको मानहानी गरेको वा असत्य कुरा उठाएको भनेर कानुनी झमेला बेहोर्नु परेको छैन। बरु आएका सामान्य गुनासाहरूले हामीलाई अझ जिम्मेवार बन्न सिकाएका छन्।
पाँच सयको डेरा र नोकियाको प्रविधि
सुरुवाती पाँच वर्षको त्यो कठिन संघर्ष सम्झिँदा आज पनि मुटु भारी हुन्छ। तम्घासमा पाँच सय रुपैयाँको डेरा, बिहान चाउचाउ खाए साँझ पनि त्यसैले टार्नुपर्ने बाध्यता। एकातिर सुट-बुटमा सजिएका, गाडी र ल्यापटप बोक्ने वरिष्ठ पत्रकारहरू हुनुहुन्थ्यो, अर्कोतिर मसँग एउटा सानो Nokia फोन थियो।
अडियो रेकर्ड गर्न पाउनु नै ठूलो प्रविधि जस्तो लाग्थ्यो। कति पटक त नेटवर्क नटिपेर घर अगाडिको रूखमा चढेर समाचार टिपाउने र पठाउने काम गरियो।
रेडियो कार्यक्रमबाट ‘मिडिया हाउस’ सम्म
समय बदलियो, प्रविधि बदलियो। युट्युब र फेसबुकलाई मिडिया नै नठान्ने सोचबाट हामी पनि विस्तारै बाहिर आयौं। हिजो रेडियोको एउटा कार्यक्रमका रूपमा रहेको ‘ओझेलका खबर’ आज नेपाल सरकारको सूचना विभाग, प्रेस काउन्सिल र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई एउटा पूर्ण डिजिटल मिडियाको रूपमा स्थापित भएको छ।
आज पूर्वदेखि पश्चिमसम्मबाट फोन आउँछन्। दर्शकहरू भन्नुहुन्छ— “ओझेलका खबरमा बेग्लै स्वाद छ।” यही मायाले हामीलाई अझ धारिलो, जिम्मेवार र परिष्कृत बन्न प्रेरित गरेको छ।
सहयात्रीहरूको निस्वार्थ साथ
श्रोत र साधनको अभाव अझै छ, तर थुप्रै साथीहरूले पारिश्रमिकभन्दा ठूलो माया दिएर यो संस्थालाई बचाइराख्नुभएको छ। डिजिटल मिडियाको क्षेत्रमा शालिक खत्री भाइको योगदान अतुलनीय छ, जसले ‘ओझेलका खबर’लाई डिजिटल युगसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो।
कामको सिलसिलामा कहिलेकाहीँ कसैको मन दुखाएको भए म क्षमाप्रार्थी छु। भौतिक रूपमा हामी जहाँ भए पनि, काठमाडौँसम्म पुगेका सबै सहकर्मी साथीहरूलाई ‘ओझेलका खबर’सँगै रहिरहन हार्दिक आग्रह गर्दछु।
सम्झनामा साथीहरू
आज वैशाख २८ गते, ‘ओझेलका खबर’को विशेष दिन। २०६५ सालको यही दिन, ठ्याक्कै आजकै जस्तो सोमबार साँझ ८ बजे रेडियो रेसुङ्गा बाट यो यात्रा औपचारिक रूपमा सुरु भएको थियो।
यस अवसरमा एम खत्री, अनिता खत्री, स्वर्गीय सूर्य पन्थी, रेडियो गुल्मी का महेश बोहोरा लगायत सम्पूर्ण सहकर्मी, शुभेच्छुक र स्रोताप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
‘ओझेलका खबर’लाई सन्जु काउछा ज्यूको gulminews.com र गोकर्ण ज्ञवाली (प्रकाश) ज्यूको ज्ञवा सञ्चार अनलाइन मार्फत संसारभर पुर्याउन ठूलो भूमिका खेलेको थियो। उहाँहरू प्रति पनि विशेष कृतज्ञता व्यक्त गर्दछु।
यो यात्रा एक्लै सम्भव थिएन। विगतझैँ आगामी दिनमा पनि साथ, सहयोग र विश्वास अझ प्रगाढ बनिरहोस्। आउनुहोस्, यो यात्रा सँगै जारी राखौँ।

No comments:
Post a Comment