तिनाउ नदीको बाढी: विनाशकारी इतिहासदेखि वर्तमानको संकटसम्म

गोकर्ण ज्ञवाली(प्रकाश), २०८३ असोज ११, बुटवल — तिनाउ नदीको उर्लिंदो भेल, नदी किनारको कटान र बाढीको त्रास बुटवलवासीका लागि नयाँ विषय होइन। इतिहासका विभिन्न कालखण्डमा ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको तिनाउले फेरि आफ्नो विनाशकारी रूप देखाएको छ। पछिल्लो बाढीले बुटवल–११, टप मझुवा क्षेत्रमा घरहरू बगाएको छ भने सयौँ परिवारलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।

वि.सं. २०३८ को विनाशकारी बाढीदेखि हालैको घटनासम्म आइपुग्दा तिनाउको जोखिम, नदी किनारमा बढ्दो बस्ती र विपद् व्यवस्थापनको अवस्थाले गम्भीर प्रश्न खडा गरेका छन्।

Photo - Arthasarokar News

२०३८ सालको महाविपत्ति: बुटवलले भोगेको कहालीलाग्दो इतिहास

वि.सं. २०३८ असोज १३ गते घटस्थापनाका दिन आएको भीषण बाढी तिनाउ नदीको इतिहासमा सबैभन्दा विनाशकारी घटनामध्ये एकका रूपमा स्मरण गरिन्छ। लगातारको वर्षापछि पाल्पाको दोभान क्षेत्रमा पहिरोका कारण नदीको बहाव अवरुद्ध भएको र थुनिएको पानी एक्कासि खुलेपछि बाढीले ठूलो विनाश मच्चाएको विवरणहरूमा उल्लेख छ।

उक्त बाढीमा दोभानमा २९ र बुटवलमा ३५ गरी ६४ जनाको ज्यान गएको विभिन्न प्रकाशित विवरणमा उल्लेख छ। बाढीले घर, खेतबारी, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको थियो। बुटवलको तत्कालीन बजार क्षेत्रसमेत बाढीको चपेटामा परेको थियो।

त्यस विपत्तिले बुटवलको भूगोलमा समेत ठूलो परिवर्तन ल्यायो। तिनाउको बहाव विभाजित भई पश्चिमतर्फ दानव नदी र पूर्वतर्फ तिनाउ नदीका रूपमा छुट्टाछुट्टै धार बनेको ऐतिहासिक विवरण पाइन्छ। यस घटनाले नदीको प्राकृतिक बहावलाई अवरुद्ध गर्दा कति ठूलो जोखिम निम्तिन सक्छ भन्ने स्पष्ट पारेको छ।

पटक–पटक दोहोरिएको बाढी र विस्थापनको पीडा

२०३८ सालपछि पनि तिनाउ नदीले विभिन्न समयमा बुटवल तथा आसपासका बस्तीमा कटान, डुबान र विस्थापनको समस्या निम्त्याउँदै आएको छ। वि.सं. २०६५ लगायतका वर्षमा नदीको बाढीले बस्ती तथा तटबन्धमा क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए। नदी किनारका बस्तीहरूमा जोखिम निरन्तर कायम रहेको देखिन्छ।

नदीको बहाव क्षेत्र साँघुरिँदै जानु, तटीय क्षेत्रमा बस्ती विस्तार हुनु र बाढी नियन्त्रणका संरचनामा क्षति पुग्नुले जोखिमलाई थप जटिल बनाएको छ। विगतका घटनाले दिएको चेतावनीका बाबजुद नदी किनारमा बसोबास गर्ने नागरिकहरू हरेक वर्ष वर्षायाममा त्रासमा बाँच्न बाध्य छन्।

२०८३ असोज ११: तिनाउको पछिल्लो बाढीले फेरि मच्चायो विनाश

वि.सं. २०८३ असोज ११ गते आइतबार प्रकाशित समाचारअनुसार, शनिबार राति आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। बगाइएका घरमध्ये दुईवटा पक्की र चारवटा कच्ची रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

लगातारको वर्षापछि तिनाउ नदीको जलस्तर बढ्दै जाँदा बस्ती जोगाउन निर्माण गरिएको तटबन्धसमेत भत्किएको विवरण सार्वजनिक भएको छ। बाढीले घरसँगै त्यहाँ रहेका सरसामानसमेत बगाएको छ। नदीको कटानका कारण आसपासका बस्तीमा थप जोखिम बढेको छ।

यस घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। तर, घर र सम्पत्ति गुमाएका परिवारका लागि यो ठूलो विपत्ति हो। सुरक्षित आश्रय, राहत र पुनःस्थापनाको व्यवस्था उनीहरूको तत्कालीन आवश्यकता बनेको छ।

पूर्वसूचना र उद्धार: यसपटक कसरी जोगिए नागरिक?

यसपटक बाढीको जोखिम बढेसँगै सुरक्षाकर्मीले रातारात उद्धार तथा स्थानान्तरण अभियान सञ्चालन गरेका थिए। टप मझुवा, प्रगतिनगर, हात्तीसुँड, युद्धनगरलगायतका जोखिमयुक्त क्षेत्रबाट करिब २०० घरपरिवारका एक हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको समाचारमा उल्लेख छ।

बाढीको सतह सतर्कता तह पार गर्दै खतराको तहसम्म पुगेपछि जोखिम झन् बढेको थियो। समयमै गरिएको स्थानान्तरणले ठूलो मानवीय क्षति हुनबाट जोगाउन सहयोग गरेको देखिन्छ। 

तिनाउको संकट: प्राकृतिक विपत्ति मात्रै कि मानवीय जोखिम पनि?

तिनाउमा बाढी आउनु प्राकृतिक प्रक्रिया हो। तर नदीको बहाव क्षेत्रमा बस्ती विस्तार, नदी किनारको अतिक्रमण, कमजोर तटबन्ध र अव्यवस्थित सहरीकरणले बाढीबाट हुने क्षति बढाउन सक्छन्। नदी नियन्त्रणका नाममा निर्माण गरिने संरचनाले नदीको प्राकृतिक बहावलाई कस्तो असर पार्छ भन्ने विषयमा पनि वैज्ञानिक अध्ययन र प्रभावकारी अनुगमन आवश्यक छ।

रसुवा बाढी : तिब्बतबाट आएको आकस्मिक बाढीले ठूलो क्षति, दर्जन बढी सुरक्षाकर्मी सम्पर्कबिहिन

ज्ञवा संचार | रसुवा, भदौ १० । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीले जिल्लाको उत्तरी क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। बिहान करिब ९ बजेतिर आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रका बजार, सडक, पुल, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो।

 बाढीका कारण दर्जन बढी सुरक्षाकर्मी सम्पर्कविहीन रहेको पछिल्लो विवरण सार्वजनिक भएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सरकारले उद्धार, खोजी तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

 बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। भन्सार परिसरमा रहेका सवारीसाधन तथा अन्य संरचना बाढीले बगाएको बताइएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

 बाढीको प्रभाव रसुवामा मात्र सीमित नभई नुवाकोटतर्फ समेत पुगेको छ। वेत्रावती, त्रिशूली र देवीघाट आसपासका क्षेत्रमा बाढीको असर देखिएको छ। त्रिशूली नदी हुँदै पानीको बहाव तलतर्फ बढ्न सक्ने भन्दै धादिङ, चितवनलगायत तटीय क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

 प्रारम्भिक विवरणअनुसार बाढी तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी भोटेकोशी नदीमा प्रवेश गरेपछि आएको हो। घटनाको वास्तविक कारण तथा पानीको स्रोतबारे थप प्राविधिक अध्ययन भइरहेको छ।

 बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बजार तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।

 यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बसेको छ। बैठकले खोजी, उद्धार, राहत तथा प्रभावित क्षेत्रमा आवश्यक समन्वयलाई तीव्रता दिने विषयमा छलफल गरेको छ।

 सरकारले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

 पछिल्लो विवरणअनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलनकै क्रममा रहेको छ। खोजी तथा उद्धार अभियान जारी रहेकाले क्षतिको संख्या थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

१७० वर्ष पुरानो सोह्र–छत्तीस नहर अतिक्रमणमा, डिल मिचेर बने सयौँ घर

ज्ञवा संचार नेटवर्क | रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ क्षेत्रमा रहेको करिब १७० वर्ष पुरानो सोह्र–छत्तीस नहर अतिक्रमणको चपेटामा परेको छ। करिब ५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउँदै आएको ऐतिहासिक नहरको डिल मिचेर निजी घर निर्माण गरिएका छन्।

स्थानीयका अनुसार नहरको दायाँ–बायाँ क्षेत्रमा यस्ता सयौँ संरचना निर्माण भइसकेका छन्, जसका कारण नहरको प्राकृतिक बहाव तथा सिंचाइ प्रणाली प्रभावित हुँदै गएको छ।

सोह्र–छत्तीस नहर सञ्चालन उपभोक्ता समितिले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका लाई अतिक्रमित क्षेत्र खाली गराई नहरलाई पूर्ववत अवस्थामा फर्काउन दबाब दिँदै आएको जनाएको छ।

उपभोक्ता समितिका पदाधिकारीहरूले नहर संरक्षण तथा नियमित पानी सञ्चालनका लागि तत्काल अतिक्रमण हटाउनुपर्ने माग गरेका छन्। स्थानीय किसानहरू समेत नहर सञ्चालन प्रभावकारी नभए खेतीपातीमा प्रत्यक्ष असर पर्ने चिन्तामा छन्।

ऐतिहासिक तथा कृषि उत्पादनसँग जोडिएको सोह्र–छत्तीस नहर संरक्षणमा स्थानीय तहले कस्तो कदम चाल्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

ओझेलका खबरको १८ वर्षे यात्रा: अभावका ती रातदेखि डिजिटल युगसम्म

 


पत्रकारिताको ‘कखरा’ र काठमाडौँको अनुभव

मैले पत्रकारिताको कखरा काठमाडौँस्थित दलित सेवा संघ बाट सिकेको हुँ, जहाँ विशेष गरी लेखन पत्रकारिताको आधार तयार भयो। २०५२ सालपछि रेडियो नेपाल को ‘दलित जनजागरण’ कार्यक्रममा



स्वर्गीय मिना स्वर्णकार र शारदा विश्वकर्मा सँगै मेरा समाचारहरू पनि गुन्जिन थाले। पछि श्रम साप्ताहिक को डेस्कमा बसेर काम गर्ने अवसर मिल्यो। मेरो खोज पत्रकारिताको यात्रालाई डोर्‍याउने र प्रोत्साहित गर्ने मुख्य श्रेय प्रधानसम्पादक रमेश पण्डित ‘तुफान’ ज्यूलाई जान्छ। उहाँ नै मेरो पत्रकारिताको जग बसाल्ने गुरु हुनुहुन्छ।

गुल्मी फिर्ती र एउटा नयाँ मोड

२०६४ सालमा जब म गृहजिल्ला गुल्मी फर्किएँ, तब मेरो एउटा खोजमूलक सामग्रीले तत्कालीन कान्तिपुर दैनिक का गुल्मी संवाददाता (हाल उप-सम्पादक) घनश्याम गौतम को नजर तान्यो। उहाँसँगको सल्लाह र रेडियो रेसुङ्गा का समाचार प्रमुख भरत पाण्डे सँगको सामीप्यले मेरो पाइला गुल्मीमै रोकियो।

काठमाडौँ फर्किने सोचमा रहेको मलाई स्रोताको अपार मायाले भन्यो— “तँ नजा, तेरो भविष्य यतै छ।” रेडियोमा मेरा रिपोर्टहरू घन्किन थालेपछि मेरो आवाजलाई सबैले मन पराइदिनुभयो। त्यही उत्साह र मायाको जगमा दोस्रो वर्षदेखि जन्मियो— ‘ओझेलका खबर’।

विगतका ती रेडियोका दिन

एउटा समय थियो, गाउँमा रेडियो नै सूचनाको मुख्य स्रोत थियो। अहिलेको जस्तो सामाजिक सञ्जाल थिएनन् र सबैको घरमा रेडियो पनि हुँदैनथ्यो। ‘ओझेलका खबर’ प्रसारण हुने साँझ कहाँ बसेर सुन्ने भन्ने निर्णय दिउँसै मेलापात र पँधेरामा हुन्थ्यो। फलानोको घरमा सुन्ने सल्लाह भएपछि साँझ दलानभरि गुन्द्री ओछ्याइन्थ्यो, कहिले त आँगनमै बसेर पनि सुनिन्थ्यो।

त्यो सामूहिक सुनाइ, त्यो आत्मीयता र रेडियोप्रतिको अगाध स्नेह आज पनि मानसपटलमा ताजै छ।

न डरायौं, न विचलित भयौं

हामीले जब ‘ओझेलका खबर’ सुरु गर्‍यौं, समाजका थिचिएका र दबिएका आवाजलाई प्राथमिकता दियौं। अन्याय, अत्याचार र शोषणका विरुद्ध हामीले शब्दहरूलाई कहिल्यै कमजोर हुन दिएनौं। खोजमूलक पत्रकारिताको यो बाटोमा धेरै धम्कीहरू आए, तर हामी विचलित भएनौं।

२०६४ सालदेखि निरन्तर जारी यो यात्रामा आजसम्म कसैको मानहानी गरेको वा असत्य कुरा उठाएको भनेर कानुनी झमेला बेहोर्नु परेको छैन। बरु आएका सामान्य गुनासाहरूले हामीलाई अझ जिम्मेवार बन्न सिकाएका छन्।

पाँच सयको डेरा र नोकियाको प्रविधि

सुरुवाती पाँच वर्षको त्यो कठिन संघर्ष सम्झिँदा आज पनि मुटु भारी हुन्छ। तम्घासमा पाँच सय रुपैयाँको डेरा, बिहान चाउचाउ खाए साँझ पनि त्यसैले टार्नुपर्ने बाध्यता। एकातिर सुट-बुटमा सजिएका, गाडी र ल्यापटप बोक्ने वरिष्ठ पत्रकारहरू हुनुहुन्थ्यो, अर्कोतिर मसँग एउटा सानो Nokia फोन थियो।

अडियो रेकर्ड गर्न पाउनु नै ठूलो प्रविधि जस्तो लाग्थ्यो। कति पटक त नेटवर्क नटिपेर घर अगाडिको रूखमा चढेर समाचार टिपाउने र पठाउने काम गरियो।

रेडियो कार्यक्रमबाट ‘मिडिया हाउस’ सम्म

समय बदलियो, प्रविधि बदलियो। युट्युब र फेसबुकलाई मिडिया नै नठान्ने सोचबाट हामी पनि विस्तारै बाहिर आयौं। हिजो रेडियोको एउटा कार्यक्रमका रूपमा रहेको ‘ओझेलका खबर’ आज नेपाल सरकारको सूचना विभाग, प्रेस काउन्सिल र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई एउटा पूर्ण डिजिटल मिडियाको रूपमा स्थापित भएको छ।

आज पूर्वदेखि पश्चिमसम्मबाट फोन आउँछन्। दर्शकहरू भन्नुहुन्छ— “ओझेलका खबरमा बेग्लै स्वाद छ।” यही मायाले हामीलाई अझ धारिलो, जिम्मेवार र परिष्कृत बन्न प्रेरित गरेको छ।

सहयात्रीहरूको निस्वार्थ साथ

श्रोत र साधनको अभाव अझै छ, तर थुप्रै साथीहरूले पारिश्रमिकभन्दा ठूलो माया दिएर यो संस्थालाई बचाइराख्नुभएको छ। डिजिटल मिडियाको क्षेत्रमा शालिक खत्री भाइको योगदान अतुलनीय छ, जसले ‘ओझेलका खबर’लाई डिजिटल युगसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो।

कामको सिलसिलामा कहिलेकाहीँ कसैको मन दुखाएको भए म क्षमाप्रार्थी छु। भौतिक रूपमा हामी जहाँ भए पनि, काठमाडौँसम्म पुगेका सबै सहकर्मी साथीहरूलाई ‘ओझेलका खबर’सँगै रहिरहन हार्दिक आग्रह गर्दछु।

सम्झनामा साथीहरू

आज वैशाख २८ गते, ‘ओझेलका खबर’को विशेष दिन। २०६५ सालको यही दिन, ठ्याक्कै आजकै जस्तो सोमबार साँझ ८ बजे रेडियो रेसुङ्गा बाट यो यात्रा औपचारिक रूपमा सुरु भएको थियो।

यस अवसरमा एम खत्री, अनिता खत्री, स्वर्गीय सूर्य पन्थी, रेडियो गुल्मी का महेश बोहोरा लगायत सम्पूर्ण सहकर्मी, शुभेच्छुक र स्रोताप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।

‘ओझेलका खबर’लाई सन्जु काउछा ज्यूको gulminews.com र गोकर्ण ज्ञवाली (प्रकाश) ज्यूको ज्ञवा सञ्चार अनलाइन मार्फत संसारभर पुर्‍याउन ठूलो भूमिका खेलेको थियो। उहाँहरू प्रति पनि विशेष कृतज्ञता व्यक्त गर्दछु।

यो यात्रा एक्लै सम्भव थिएन। विगतझैँ आगामी दिनमा पनि साथ, सहयोग र विश्वास अझ प्रगाढ बनिरहोस्। आउनुहोस्, यो यात्रा सँगै जारी राखौँ।

पाल्पामा विद्यालयको शौचालयमै छात्राले जन्माइन् बच्चा

२०८२ चैत १७ गते पाल्पामा घटेको घटनाको AI तस्वीर
 पाल्पामा घटेको घटनाको AI तस्वीर

२०८२ चैत १७ | पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा कक्षा ११ की १८ वर्षीया छात्राले विद्यालयको शौचालयमै बच्चा जन्माएकी छन्। घटना अघि शिक्षक र साथीहरूले गर्भावस्थाबारे कुनै जानकारी पाएका थिएनन्।

शरीर मोटो देखिँदा सोध्दा उनले “डाइटिङ गर्दैछु” भन्दै ढाँटेकी थिइन्। उनी विद्यालयकै कोठामा साथीहरूसँग बस्दै आएकी थिइन्। बच्चाका पिता भनिएका छात्र हाल सम्पर्कमा नभए पनि उनको परिवारले जिम्मेवारी स्वीकार गरेको बताइएको छ।

घटनापछि छात्रालाई परिवारको जिम्मा लगाइएको विद्यालय प्रशासनले जनाएको छ।

रुपन्देहीमा छिमेकी महिलाको हत्या आरोपमा १५ वर्षीय किशोर पक्राउ

 ज्ञवा संचार | २०८२ चैत्र १० |

रुपन्देहीको भैरहवामा छिमेकी महिलाको हत्या आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन्।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको कैंची प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको हो।

लागूऔषधको लतका कारण पैसा अभाव भएपछि चोरी गर्न पसलमा छिरेको र विवाद हुँदा हत्या गरेको प्रारम्भिक बयान छ।

घटनापछि फरार रहेका उनलाई शनिबार पक्राउ गरिएको हो। जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लामाखर्क समाज रुपन्देहीले बुटवलमा तिज मिलन र गाउँमा भलिवल कार्यक्रम आयोजना गर्दै

गोकर्ण ज्ञवाली 'प्रकाश' | लामाखर्क समाज रुपन्देहीले आगामी चाड पर्वलाई लक्षित गरि बिभिन्न कार्यक्रम तय गरेको छ |

समाजका अध्यक्ष कपिल ज्ञवालीले यस पटक समाजले गाउँको मेलमिलाप, परम्परा र संस्कृतिलाई शहर बजारमा रहेर पनि निरन्तरता दिने हेतुले बुटवलमा हरितालिका तिजको अवसरमा तिज मिलन तथा नाचगान  कार्यक्रमको आयोजना गरेको छ |

आगामी भदौ ३० गते बुटवल फुलबारी गेट नजिकै प्रभाकर क्याटरिंगमा बिहान ११ बजे देखि तिज मिलन तथा नाचंगान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष  कपिल ज्ञवालीले बताए | 

तिज मिलन कार्यक्रमले रुपन्देही तथा आसपासमा रहने गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ लामाखर्क गाउँ सम्बद्ध सबै आमाबुवा, दाजुभाई, दिदि बहिनि, बुहारी, भान्जी लगायतको जमघट, नयाँ पुस्ताविच चिनाजानी गराउने साथै परम्परा संस्कृतिलाई ताजगी  गराउने ज्ञवालीले बताए |

यसको साथसाथै समाजले दशैँ तिहारमा गाउँ सुनसान नबनोस भनेर र खेलकुद क्षेत्रमा टेवा पुगोस भन्ने हेतुले गाउँमा विगतमा जस्तै गरि अहिलेपनि भलिवल प्रतियोगिताको आयोजना गरेको छ | 

यस पटक आयोजना हुन लागेको दोस्रो भलिबल प्रतियोगिताको लागि कार्तिक १ गते बिहान १० बजेसम्म रुरुक्षेत्र गाउँपालिका र सो क्षेत्रका वडास्तरीय टिम दर्ता गर्ने कार्यक्रम रहेको र सोहि दिननै दिउँसो १ बजेदेखि खेल शुभारम्भ हुनेछ |  फाइनल खेल कार्तिक ५ गते हुने र समापन पनि सोहि दिननै हुने कार्यक्रम तय भएको छ |

यस्ता कार्यक्रमले खेलप्रेमिहरुको गाउँमा जमघट गराउने हुँदा गाउँमा खेलकुद संगै चाडपर्वको उल्लासमा बढावा दिने अध्यक्ष ज्ञवालीले बताए | 

लामाखर्क समाज रुपन्देहीले बिगत देखि सामाजिक कार्यलाई निरन्तरता दिंदै आएको छ | समाजले बिभिन्न समयमा रक्तदान कार्यक्रम, वृक्षरोपण कार्यक्रम, असक्त, पिडित र बिरामीहरुको लागि राहत कार्यक्रम, चाड पर्ब बिशेष  भेटघाट कार्यक्रम, खेलकुद कार्यक्रम आदि आयोजना गर्दै आएको छ | 



विदेशबाट आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

तस्बिर : रासस
ज्ञवा संचार | हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ। 

सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए। 

निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। सरकारले नेम्वाङको निधनमा बीहिबार शोक विदा घोषणा गरेको छ।

राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ। एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ। 

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए। सेतोपाटीले खबर लेखेको छ |

बलात्कार पीडितको कथामा आधारित ‘हाउगुजी’को फर्स्टलुक पोस्टर सार्वजनिक

 

बलात्कार पीडित युवतीको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘हाउगुजी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । विशेषगरी बलात्कार पीडित एक युवतीको मनोदशालाई पोस्टरमा देखाउन खोजिएको छ । दीपक परियारको निर्देशनमा तयार भएको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु पाण्डे, गोपाल परियार, लक्ष्मण बस्नेत, निशा सावत पाण्डे, मानप्रसाद सुवेदी, रोशनी सापकोटा र स्व. कुलचन्द्र पुरीलगायतको अभिनय छ । सुदन गौतम र तुलबहादुर थापा निर्माता रहेको फिल्मको एक गीतबाहेक सम्पूर्ण छायांकन बुटवलका विभिन्न क्षेत्रमा भएको हो ।

सुदन गौतम ‘सिड’को पटकथा तथा संवाद रहेको फिल्म सेन्सर पास भैसकेको छ । केही दृश्यका कारण फिल्मलाई सेन्सर बोर्डले १६ वर्षमुनिका दर्शकले अभिभावकसँग हेर्नुपर्ने गरी पिजी सर्टिफिकेट दिएको छ । उचित समय हेरेर फिल्मलाई प्रदर्शन गरिने निर्माता गौतमले जानकारी दिए । फिल्ममा समावेश तीनवटा गीतमा सहनिर्माता समेत रहेका मनोज खड्काले संगीत भरेका छन् ।

विवेक थापा र प्रेम गुरुङको नृत्य निर्देशन, गोपाल परियारको द्वन्द्व निर्देशन, दुर्गा कुमालको छायांकन र निर्देशक परियार स्वयंको सम्पादन रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम ओमी मुभी स्टुडियोमा गरिएको हो । फिल्मको विषयवस्तुले बलात्कारविरुद्ध जनचेतना फैलाउन ठूलो भूमिका खेल्ने विश्वास निर्देशक परियारको छ । टिम नयाँ भए पनि फिल्म राम्रो बनेको उनको भनाई छ ।

कर्णेल उजिर सिंह थापालाई राष्ट्रिय वीभूती घोषणा गर : महेन्द्र थापा

सन्दर्भ : जितगढी विजयको २०८ औं वार्षिकोत्सव
- महेन्द्र थापा
उन्नाइसौं शताब्दीसम्म खस्यौली सालघारी र बुट्यान क्षेत्र थियो । बटौली (बुटवल) बजार चम्केको थियो । पश्चिम नेपालकै मुख्य बाणिज्य केन्द्र थियो बटौली । पुरानो पाल्पा राज्यको प्रशासनिक केन्द्र पाल्पा तानसेनमा भएपनि व्यापारको केन्द्र बटौली बजार थियो । उत्तर दक्षिणको आवत जावतको मुख्य बाटो पनि यही बटौली क्षेत्र थियो ।


 

बटौली बजार हुँदै पाल्पा दोभानको नुवाकोट डाँडा निस्केर पाल्पाको तानसेन पुगिन्थ्यो । पुरानो पाल्पा राज्यको सेनबंशिय राज्यकालदेखी राणा शासन कालसम्मै पश्चिम नेपालको राजनीति र प्रशासनको मुख्य केन्द्र तानसेन थियो । पुरानो पाल्पा राज्यका सौखिन राजा र प्रशासकहरुले गृष्म कालमा पाल्पाबाट शासन–प्रशासन चलाउँथे भने शितकालमा बटौलीबाट चलाउँथे । आर्थिक रुपमा समृद्ध थियो पुरानो पाल्पा राज्य । पश्चिममा राप्ती देखी पूर्वमा कोशी तटसम्म फैलिएको थियो विशाल पाल्पा राज्य । बाणिज्य केन्द्र भएको र उब्जनीशिल फाँट समेत बटौलीतिरै भएकाले कर असुलीका लागि बटौलीमा अड्डा कायम गर्नु पर्ने आवश्यकता थियो । पाल्पा राज्यको मुख्य आम्दानीको श्रोत केन्द्र बटौली बजार र पाल्पा स्थित राजदरबारको सुरक्षार्थ पाल्पाका प्रसिद्ध सेन बंशिय राजाहरुले बटौलीमा गढी(किल्ला) निर्माण गराएका थिए ।



 

सेन वंशका अति प्रसिद्ध राजा मणिमुकुन्द (मुनिमुकुन्द) सेनले यसको निर्माण गराएका थिए भन्ने इतिहासकारहरुको विश्वास छ । दक्षिणतिरबाट हुन सक्ने आक्रमणलाई रोक्न पाल्पा राज्यको पहाडी इलाका सुरु हुने प्रवेशद्वारमै तिनाउ नदी किनारमा गढी निर्माण गरिएको थियो । जसलाई बटौली गढी भनिन्थ्यो । गढीको अन्दाजी आधा किलोमिटर उत्तरको भिरालो पखेरामा सेनवंशीय राजाको शितकालीन दरबार थियो । जसको भग्नावशेष अहिले पनि संरक्षित छ । यसको निर्माण १६ औं शताब्दी (वि.सं. १५७५) मा मणिमुकुन्द सेनले गराएको विश्वास गरिएको छ । यो शितकालीन दरबारको सुरक्षा एवं पाल्पा राज्यकै सुरक्षाको लागि गढी निर्माण गरिएको हो । यो गढी ज्यादै वैज्ञानिक र दुरदर्शी ढङ्गले इँटा र माटोद्वारा निर्माण गराइएको थियो । दक्षिणतिरबाट हुन सक्ने आक्रमणलाई प्रवेशद्वारमै रोक्ने उद्देश्य यो गढीको थियो । कदाचित यो गढीमा दुश्मनलाई रोक्न नसके दोस्रो गढीमा रोक्ने उद्देश्यले बटौलीदेखि माथि उकालो अन्दाजी २ घण्टा पैदल हिंडेर पुग्न सकिने पाल्पा दोभानको नुवाकोट डाँडामा काठे गढी निर्माण गरिएको थियो । जसलाई सानो नुवाकोट गढी पनि भनिन्थ्यो । तेस्रो गढी नुवाकोटमै निर्माण गरिएको थियो । जसलाई नुवाकोट गढी भनिन्थ्यो । यी तीन ठाउँमा दुश्मनलाई रोकेर पाल्पाको रक्षा गर्ने सुरक्षा रणनीति थियो । यी तीन ठाउँमा रोक्न नसकेमा पाल्पाका अन्य गढी र राजदरबार तानसेनमा अन्तिम लडाई लड्ने सुरक्षा रणनीति थियो । पाल्पा राज्य नेपाल अधिराज्यमा गाभिएको धेरै पछि सम्म पनि तानसेन पुग्ने मार्ग यही थियो र नेपाल सरकारको सुरक्षा रणनीति पनि यही नै थियो ।
हो, यही बटौली गढीमा १९ औं शताब्दीमा विश्व विजयी अङ्ग्रेज सेनाले आक्रमण गरेको थियो । विश्व विजयको महत्वाकांक्षा बोकेको र आक्रमण गरेको जुनसुकै ठाउँमा सफल भएको अत्याधुनिक हातहतियारले युक्त शक्तिशाली अङ्ग्रेज सेनालाई यही बटौली गढीमा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले जितेको थियो । रणनीति बमोजिम प्रवेशद्वारमै शक्तिशाली अङ्ग्रेज सेनालाई रोक्न नेपाली सेना सफल भएको थियो । यही युद्धमा जितेको गढी भएकाले जितगढी नाम राखेका थिए, उजिर सिंह थापाले ।










 

जितगढीमा भएको नेपाल–अङ्ग्रेज युद्ध
यो युद्ध १९ औं शताब्दी (वि.सं. १८७१–७२) मा भएको थियो । बुटवल र स्युराज (कपिलबस्तु) लाई अङ्ग्रेजले आफ्नो इलाका भनी दावी गरेका कारण नेपालले विश्व विजयी अङ्ग्रेज विरुद्ध बाध्यात्मक युद्ध लड्नु परेको थियो । पाल्पा राज्य नेपाल अधिराज्यमा एकीकरण भएपछि पाल्पाका राज खलक र केही भारदार खलक असन्तुष्ट भएका थिए । यिनै असन्तुष्ट भारदार खलक अङ्ग्रेजका सुचक थिए र नेपाल विरुद्ध अङ्ग्रेजलाई उक्साएका थिए । अङ्ग्रेजले बुटवल र स्युराजमाथि दावी गर्दा पटक पटक झडप भएका थिए । विशाल भारतमा आधिपत्य जमाएको अङ्ग्रेजले नेपाल अधिराज्यमाथि पनि आँखा गाडेको थियो । बुटवल र स्युराजमाथि आक्रमण गर्नुको उद्देश्य बुटवल र पाल्पा कब्जा गर्नु थियो । पाल्पा जितेर पश्चिम नेपाल र काठमाडौबीच सम्बन्ध टुटाएपछि काठमाडौमाथि आक्रमण गर्ने उद्देश्य थियो, अङ्ग्रेजको । बुटवलमाथि कब्जा जमाएपछि यस क्षेत्रको घना जङ्गलको दुर्लभ रुख वृक्ष प्राप्त गर्नु र बुटवल हुँदै तिब्बततर्फ व्यापारिक मार्ग विस्तार गर्नु अङ्ग्रेजको लक्ष्य थियो । पाल्पाको समशितोष्ण हावापानी भएको इलाकामा दरबार बनाई बस्ने र तराईको उब्जनीशिल फाँटमाथि कब्जा जमाउने लक्ष्य समेत थियो । दरबारहरु बनाउन बुटवल वरीपरिको घना जङ्गलमा सयौं वर्ष पुराना ठूल्ठूला रुख वृक्षहरु उपलब्ध थिए । यिनै काठपात हात पार्ने दाउ पनि थियो अङ्ग्रेजको । यिनै उद्देश्य लिएर वि.सं. १८७१ पुस १३ गतेका दिन अङ्ग्रेज जनरल सुलिभान उड युद्धको लागि बुटवल आइपुगे । उनीसँग अत्याधुनिक हातहतियारले युक्त फौज, तोप र पाल्पाली राजा पृथ्वीपाल सेनका मन्त्री तथा सल्लाहकार कनकनिधी तिवारीका बाबु छोराका साथमा रहेका पाल्पाली फौज समेत थियो । वि.सं. १८७१ पुस १५ गतेका दिन दुई पक्षबीच घमासान युद्ध भयो, बटौली गढीमा । इष्टइण्डिया कम्पनीको फौजको नेतृत्व गरेका जनरल उडले पाल्पामाथि आक्रमण गर्न दुई वटा बाटो रोजेका थिए । पहिलो बाटो पहाडै पहाड गएर नुवाकोट गढीलाई ध्वस्त पारी पाल्पा हान्ने र अर्को जीतगढीलाई ध्वस्त पारी हालको सिद्धार्थ राजमार्गको बाटो भई पाल्पा हान्ने योजना बनाएका थिए । पहिलो बाटोबाट जाँदा नुवाकोट गढीको वरीपरी तीन माइल सम्म खानेपानीको अभाव भएको जानकारी पाएपछि जनरल उड निराश भए । घना जङ्गलको बुट्यान भएर बाटो तय गर्नु पर्ने भएकाले अङ्ग्रेज फौजलाई सकस भयो । उडले बटौली गढीको रेकी गर्न पठाए । रेकी टोली किल्ला खाली जस्तो देखि फर्कन मात्रै लागेको थियो, किल्ला भित्रबाट गोलीको बर्षा भयो । एक दुई जना त्यहीँ ढले । अरु बाँचेर भागे । केही समय पछि उडले फौजलाई एकत्रित गरी दुई समूहमा बाँडे र एक समूहको नेतृत्व आफैले लिए । पुस १५ गते साँझ पख चार सय जवान अङ्ग्रेज फौजले जितगढीमा हमला ग¥यो । दुई पक्षको बीचमा घमासान युद्ध भयो । नुवाकोट गढीबाट सबुजको पाँच पट्टी (अन्दाजी २५० जना) र अरु जागिरे ढाक्रे गरी ७–८ सय जनाको लस्कर साथमा लिएर कर्णेल उजिर सिंह थपा जितगढीमा ओर्ली भित्रैबाट युद्धको नेतृत्व गरे । दाहिनेतिरबाट हमला गर्नेहरुको टोलीबाट सरदार सूर्य थापाले विरगती प्राप्त गरे । कुम्भेदान कृपासुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना र हुद्दा सिपाहीहरु समेत ५०–६० जवानले हातमा नाङ्गो तरबार लिएर गढीदेखि बाहिर निस्की दोहोरो तर्फबाट तरबार चलाउँदा कुम्भेदान कृपासुर थापा, लेप्टेन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भिमसेन देउजा, जमदार सुरविर बोहोरा, सबुजका हवल्दार रणसुर बानिया, जुठे बस्नेतहरुले २–३ सय अङ्ग्रेज फौजलाई मारेर आफूहरुले वीरगती प्राप्त गरे । नेपाली फौजतर्फ अन्दाजी ५०–६० जना जवान मारिए । जमदार जसिबन्त शाही, जमदार बुद्धिबल राना आदि हुद्दा सिपाहीहरुले अङ्ग्रेज फौजका धेरै जवानहरुलाई मारेर गढीमा फर्किए । लडाईमा अङ्ग्रेज फौजका बृगेड मेजर हैट र इन्जिनियरिङ्गका लेफ्टीनेन्ट मोरिशन नराम्ररी घाइते भए । युद्धमा अङ्ग्रेज तर्फका एक जना कर्णेल, पाल्पाली काजी कनकनिधी तिवारीका बाबु छोरा र अङ्ग्रेज फौजका ५–७ सय जना सिपाहीहरु मारिए । “युद्ध हतियारले होइन विचारले लडिन्छ” भन्ने दृढ अठोट लिएर मैदानमा उत्रिएको थियो, नेपाली सेना । नेपाली सेनाको साहस, वीरता, धिरता, रणकौशल, मनोबल र आत्मविश्वासलाई निकटबाट स्पर्श गरेको अङ्ग्रेज फौजले युद्धकला र युद्धनीतिमा नेपाली भन्दा आफु कमजोर भएको महसुस ग¥यो र युद्ध मैदान छोड्यो । पहिलो चरणको युद्धमा नेपालले अङ्ग्रेजलाई नराम्ररी हरायो । युद्धमा नराम्रो हार व्यहोर्नु परेपछि रन्थनिएका अङ्ग्रेज जनरल जोन सुलिभान उड चैत सम्म चुप लागेर बसे । उनले कर्णेल उजिरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको भन्ने चाल पाएपछि पुनः बुटवलमाथि आक्रमण गर्न १८७२ सालको बैशाख ७ गते बुटवल आइपुगे । अङ्ग्रेज फौजले बटौलीतिर तोपको गोला बर्साउन थाल्यो । १८ पाउण्डको गोला प्रहार गरी बटौलीको पखेरोमा रहेको दरबारलाई ध्वस्त पारीदियो । अङ्ग्रेज फौजले तिनाउ नदी पार गर्न लागेकै बेलामा बटौली गढीबाट गोलीको बर्षा गराईदियो नेपाली सेनाले । कुम्भेदान जयसुर थापाले अङ्ग्रेज फौजको पहिलो डफ्फालाई सखाप पारीदिए । अङ्ग्रेज फौजको भागाभाग भयो । जनरल उडले बटौली गढी अभेद्य किल्ला भएको अनुभव गरे । आफ्ना जासुसबाट सत्य सूचना पाउन नसकेका जनरल उडले सानो बस्तीका लागि धेरै ज्यानको बाजी लगाई युद्ध लडिरहनु उचित सम्झेनन् । त्यसैले आफ्नो फौजलाई युद्ध मैदान छोड्न आदेश दिए । यसरी दुई चरणका युद्धमा नेपाली सेनाले विजयश्री हासिल ग¥यो । अङ्ग्रेजको नेपालमाथि आधिपत्य जमाउने विस्तारवादी योजना यहींबाट अन्त्य भयो । बटौली गढीको नाम जीतगढी रहन गयो । जितेको खुसीयालीमा बटौलीदेखि तानसेन सम्म विजय उत्सव मनाइयो । सिङ्गो नेपाल अधिराज्यभरी खुशीको सञ्चार भयो । यही विजय उत्सवलाई स्मृति स्वरुप केही वर्ष यता निरन्तर बुटवलमा बैशाख ७ गते जितगढी विजयको वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाउन थालिएको छ । २०८० सालमा पनि भव्य समारोह आयोजना गरियो ।


























 

को हुन उजिर सिंह थापा
नेपालको राजनीतिक र सैनिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको इतिहास बोकेको बगाले थापा बंशमा जन्मिएका थिए उजिर सिंह थापा । उनी जनरल तथा काजी अमर सिंह थापा (साना काजी) का नाती तथा नेपालको इतिहासमा सबैभन्दा बढी ३३ वर्ष मुख्तियारी (प्रधामन्त्री) चलाएका भिमसेन थापाका भाई काजी नयन सिंह थापाका छोरा हुन् । उनी राजनीतिक तथा सैनिक पृष्ठभूमिको उच्च कुलमा जन्मेका थिए । उनका भाई माथवरसिंह थापा प्रधानमन्त्री बने । बहिनी त्रिपुरासुन्दरी राजा रण बहादुर शाहको रानी बनिन् भने दिदी गणेश कुमारी राणा शासनका संस्थापक श्री ३ जङ्ग बहादुर कुँवर (राणा) को आमा थिइन् । आफ्नो हजुरबुबा अमर सिंह थापाको मृत्युपछि कर्णेलको दर्जा दिएर २० वर्षको कलिलो उमेरमा उनलाई पाल्पा गौडाको प्रशासक बनाएर पठाइएको थियो । उनले १० वर्ष पाल्पाको प्रशासक भई राष्ट्र सेवा गरे । उनको मुख्यालय तानसेनमा थियो भने बटौली गढी, काठेगढी र नुवाकोट गढीमा बसेर अङ्ग्रेज विरुद्ध लडाई संचालन गरेका थिए । पाल्पा हानी काठमाडौतर्फ अघि बढ्ने लक्ष्य बोकेको अङ्ग्रेज फौजलाई उनी नेतृत्वको नेपाली फौजले नराम्ररी हरायो र अङ्ग्रेजको विस्तारवादी पाइला रोकिदियो । बुद्धिमत्ता र बहादुरीपूर्वक लडाई सञ्चालन गरेका उजीर सिंहले नेपालको इतिहासमा ठूलो योगदान दिएका छन् । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले पूर्णरुपमा जितेको युद्ध यही बटौली गढीको मात्र हो ।
उजीर सिंह थापा एक कुशल सैनिक कमाण्डर मात्र नभई कुटनीतिज्ञ, कुशल प्रशासक र नीतिज्ञ थिए । उनी धार्मिक स्वभावका पनि थिए । उनले प्रशासनिक र सामाजिक बन्दोबस्तीका लागि कानून समेत निर्माण गरेका थिए । योगदान उँचो भएर पनि ओझेलमा परेका र सरकारले घोषणा गर्न छुटेका राष्ट्रिय विभुती हुन उजीर सिंह थापा । अतः नेपाल सरकारले उनलाई अविलम्ब राष्ट्रिय विभुती घोषणा गर्नु पर्छ । अस्तु ।
लेखक थापा गुल्मी पिपलधाराका हुनुहुन्छ । हाल बुटवल बसाई छ । उहाँसंग राराष्ट्रिय मूलधारको पत्रकारीतामा लामो समयको अनुभव छ ।
Like
Comment

लामाखर्क रुपन्देही समाजको पहिलो कार्यसमिति बैठक सम्पन्न

भाद्र १६ | लामाखर्क रुपन्देही समाज बुटवलको पहिलो कार्यसमिति बैठक बसेको छ | बैठकले तिज मिलन कार्यक्रमको समिक्षा गरेको छ साथै अन्य बिभिन्न छलफल तथा निर्णय गरेको छ |

लामाखर्क रुपन्देही समाजको तिज मिलन भब्य रुपमा सम्पन्न

भाद्र ११ \ लामाखर्क रुपन्देही समाज बुटवलले पाचौं साधारण सभा, तेस्रो अधिबेसन एवं तिज मिलन कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ |

गुल्मीको रुरु क्षेत्र बम्घामा घरमा पहिरो खस्यो, सुतिरहेका ४ को ज्यान गयो

ज्ञवा संचार । २०७७, साउन १७ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घामा रातीको समयमा घरमाथी पहिरो खस्दा एकै परिवारको ४ जनाको ज्यान गएको छ । 
रातको समयमा परिवारका सबै सदस्य सुतिरहेको समयमा अचानक पहिरो झरेर घर पुरिएकोले सो घटना हुन पुगेको बताईएको छ । 

रवि लामिछानेको अमेरिकामा भएको घर लिलाम हुन लागेपछि पूर्व पत्नी इशा नेपाल आउँदै

काठमाडौँ, १२ भदौ । हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्। केही समय अघि रवि लामिछानेको अमेरिकामा रहेको घर ऋणको किस्ता नतिरेका कारण लिलाम हुन लागेको कुरा सार्वजनिक भएको थियो ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने कुरा बाहिरिएको हो । तर उनी नेपाल के कामका लागि आउन लागेकी हुन् भन्ने कुरा भने खुलाइएको छैन । उनले सामाजिक सञ्जाल मार्फत केही ब्यक्तिलाई आफु नेपाल आउन लागेको जानकारी गराएकी थिइन् ।

रुरु हृषिकेश मन्दिरमा आरतीको समय विद्युतीय बाजा बज्ने

ज्ञवा संचार, भदौ १२ | गुल्मीको रुरुधाममा अवस्थित हृषिकेश मन्दिरमा आरतीको समय अब स्वचालित विद्युतीय संगीत बज्ने भएको छ | 
बुटवलका यदुनाथ पाण्डेले आफ्ना मातापिताको स्मृतिमा उक्त संगीत बाजा ऋषिकेश मन्दिरलाई उपलब्ध गराउनु भएको हो | रुरु धार्मिक सेवा संचार प्रालिले उक्त संगीत बाजा जडानको लागी यदुनाथ पाण्डेसंग आग्रह गरेको थियो |   आरतीको समय बिद्युत स्विच अन गरेपछि उक्त बाजाले स्वत संगीत दिन थाल्ने सहयोगी पाण्डे बताउछन | 

भुटानमाथि नेपालको शानदार जित, नेपाल फाईनलमा प्रवेश

काठमाडौं । कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि ६–० को शानदार जित हात पारेको छ । यो जितसँगै नेपालले फाइनल प्रवेश पाएको हो ।
पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा भएको खेलको पाँचौं मिनटमै प्रदिप लम्सालले पहिलो गोल गरे । लगतै नवौं मिनटमा निराजन खत्रीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।
दोस्रो हाफ शुरु भए लगतै ४८औं मिनटमा कप्तान लम्सालले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि तेस्रो गोल गरे । खेलमा एकपक्षिय जित हात पारेको नेपालका लागि ७५औं मिनटमा असिम राईले चौथो गोल गरे भने ८५औं मिनटमा कृष सापकोटाले पाँचौं गोल गरे ।

कपिलको प्रविधि मोह : नेपालमै ड्रोन देखी रोबोटकार बनाए


पहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

रुपन्देही । गुल्मी ठुलोलुम्पेकमा पहिरोबाट घर विहिन भएकाहरुको आवास प्रदेश सरकारले बनाइदिने भएको छ ।
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पहिरोबाट पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले गुल्मीको ठुलोलुम्पेकमा पहिरोबाट विस्थापित भएकाहरुलाई राहत हस्तान्तरण कार्यक्रममा मन्त्री बरालले प्रमुख जिल्ला अधिकारी समक्ष पूर्ण र आंशिक घरविहिनहरुको तथ्यांक निकालेर घर बनाइने बताए ।
अहिले प्रदेश सरकारले लागत स्टीमेट तयार गर्दै गरेको समेत मन्त्री बरालको भनाइ छ ।  पठुलोलुम्पेकको वडा नं ३ र ४ मा गएको पहिरोबाट विस्थापित भएकाहरुलाई सामाजिक उत्तरदायित्व अनुसार पाँच लिटरका २ सय कुक्करहरु हस्तान्तरण गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।
उनले महाभुकम्पको समयमा समेत लाखौँ रुपैयाँ सहयोग गरेको उल्लेख गर्दै यातायात व्यवसायी सेवा मुलक व्यवसायी भएकाले राहत हस्तान्तरण गरिएको बताए । #onsnews

गुल्मी रिडि सडक खण्डमा भाइब्रेटिङ्ग र रोलिङ्ग बिनै ग्राभेलिङ्ग

सडक निर्माणमा ब्यापक अनियमितता, कार्यालयकै मिलेमतोको आरोप :
हुमाकान्त पोखरेल, गुल्मी, १७ असौज । गुल्मीमा स्तरोन्नती भइरहेको रिडि–तम्घास सडकमा ब्यापक अनियमितता भएको पाइएको छ । लुम्बिनी परिक्रमा सडकअन्तरगत रिडि–तम्घास सडकमा पर्ने रिडि–रातामाटा सडक खण्डमा अनियमितता भएको पाइएको हो । काममा भएको अनियमितता एवम् लाहापरवाही प्रति गुल्मीका निर्माण ब्यवसायीले अनुगमन गरी आपत्ति जनाएका छन् । रिडि–तम्घास सडक जिल्लाको प्रवेशद्धार हो । सबैभन्दा पहिले कालोपोत्रे गरिएको यस सडकको अहिले रिडिदेखि रातामाटासम्म तीन किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ ।
कुनै पनि सडक ग्राभेलिङ्ग गर्दा सबैभन्दा पहिले कच्ची माटो फाल्नुपर्छ । त्यसपछि भाइब्रेटिङ्ग गर्ने, रोलिङ्ग गर्ने र बल्ल ग्राभेलिङ्ग गर्ने गर्नुपर्छ । यसो गर्दा ८ इन्चसम्म एकै प्रकारको गिटी बाटोमा विच्छ्याउनुपर्ने ब्यवस्था छ । ८ इन्चसम्मको गिटी विच्छ्याउदा जमिनमा पहिले रहेको माटो पुरै पुरिन्छ । अर्थात बाहिर देखिनुहुँदैन । तर गुल्मीको रिडि सडक खण्डमा बन्न लागेमा बाटोमा भने भाइब्रेटिङ्ग र रोलिङ्ग नगरिकन ग्राभेलिङ्ग गर्न थालिएको छ । त्यत्तिमात्र होइन, बाटोको नालिमा पनि कमसल खालको सामान प्रयोग गरिएको गुल्मीका निर्माण ब्यवसायी नवराज श्रेष्ठले जानकारी दिए । भने 'सडकको नालिमा गाह्रो उठाउनुभन्दा पहिले १० सेन्टी पिच गर्नुपर्छ' ।

मुलुककै प्रतिनिधित्तो गर्दै गुल्मीका विकल सिंगापुर जाँदै !


गोकर्ण प्रकाश ज्ञवाली, असोज १७ । यस अघि बेलारुसबाट तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर फर्केका गुल्मी रुरु गाउँपालिका १ रिडीका विकल पौडेल फेरी सिंगापुरमा हुने टेक्वान्डो च्याम्पियनसिपमा जाने तयारीमा जुट्दै छन् ।
विकल सिङ्गापुरमा यहि अक्टोबर ७ अर्थात असोज २१ गते हुन गइरहेको आइटिएफ टेक्वान्डो च्याम्पियनसिपमा मुलुककै प्रतिनिधित्व गर्दै सहभागी हुने भएका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दोका विभिन्न बिधामा महत्वपुर्ण पदक जितिसकेका बिकलले सिङ्गापुरमा हुने यो प्रतियोगितामा गोल्ड मेडल जित्ने आशाका साथ तयारीमा व्यस्त छन अहिले ।