१७० वर्ष पुरानो सोह्र–छत्तीस नहर अतिक्रमणमा, डिल मिचेर बने सयौँ घर

ज्ञवा संचार नेटवर्क | रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ क्षेत्रमा रहेको करिब १७० वर्ष पुरानो सोह्र–छत्तीस नहर अतिक्रमणको चपेटामा परेको छ। करिब ५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउँदै आएको ऐतिहासिक नहरको डिल मिचेर निजी घर निर्माण गरिएका छन्।

स्थानीयका अनुसार नहरको दायाँ–बायाँ क्षेत्रमा यस्ता सयौँ संरचना निर्माण भइसकेका छन्, जसका कारण नहरको प्राकृतिक बहाव तथा सिंचाइ प्रणाली प्रभावित हुँदै गएको छ।

सोह्र–छत्तीस नहर सञ्चालन उपभोक्ता समितिले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका लाई अतिक्रमित क्षेत्र खाली गराई नहरलाई पूर्ववत अवस्थामा फर्काउन दबाब दिँदै आएको जनाएको छ।

उपभोक्ता समितिका पदाधिकारीहरूले नहर संरक्षण तथा नियमित पानी सञ्चालनका लागि तत्काल अतिक्रमण हटाउनुपर्ने माग गरेका छन्। स्थानीय किसानहरू समेत नहर सञ्चालन प्रभावकारी नभए खेतीपातीमा प्रत्यक्ष असर पर्ने चिन्तामा छन्।

ऐतिहासिक तथा कृषि उत्पादनसँग जोडिएको सोह्र–छत्तीस नहर संरक्षणमा स्थानीय तहले कस्तो कदम चाल्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।