मोरङ, कार्तिक ३० । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् । इन्धनको चरम अभाव भइरहेको बेला इन्धन बिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।
हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।
नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए ।उनले भने–‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’ विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ ।
‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ’– मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा. सुभास पोखरेलले भने । रासस