अब ६० वर्ष सम्मका व्यक्ति प्रहरी बन्न सक्ने

माघ ५ , नेपाल प्रहरीले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाई सुरक्षामा जनसहभागिता बढाउन स्वयंमसेवक प्रहरी भर्ना गर्न लागेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सोमबार स्वयंसेवक प्रहरीका लागि भर्ना आह्वान गरेको छ ।
महानगरी प्रहरी कार्यालयले ४० जना स्वयमसेवक प्रहरीका लागि विज्ञापन निकालेको छ । ‘पब्लिक-पुलिस पार्टनरसिपअन्तर्गत हामीले स्वयंसेवक प्रहरी भर्ना गर्न लागेका हौं,’ महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले भने, ‘सुरक्षामा जनसहभागिता बढाउन यस्तो कार्यक्रम सुरु गर्न लागेका हौं ।’
साधारण लेखपढ गर्न सक्ने ब्यक्ति पनि भर्ना हुन सक्ने नयाँ पत्रिकामा खबर छ । १८ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिले स्वयमसेवक प्रहरीका रुपमा काम गर्न सक्नेछन् । तर, ५० देखि ६० वर्षबीचका व्यक्ति पनि सिनियर स्वयंसेवक प्रहरी बन्न सक्ने प्रावधान रहेको छ ।