रुपन्देही, चैत्र २० | आयल निगमको भलवारी डिपोले निमुखा व्यवसायीलाई इन्धनमा पक्षपात गर्दा पीडित भएको भन्दै शनिवार एक व्यवसायीले सार्वजनिक कार्यक्रममै आत्महत्या प्रयास गरेपछि खैलावैला मच्चियो ।
बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १३औं वार्षिक साधारणसभामा कपिलवस्तु चनौटाको न्यू अन्सारी पेट्रोलपम्पका संचालक मोहमद कैयुम अन्सारीले आत्महत्याको प्रयास गरेका हुन् ।
उनले गहुँमा प्रयोग गरिने किटनासक विषादी देखाउँदै सोही सभामै सेवन गरेर आत्महत्या गर्ने चेतावनी दिएका थिए । उनलाई त्यसो नगर्न सम्झाएर रोकिएको थियो ।
‘मेरो छिमेकको पेट्रोल पम्पमा लगातार इन्धन भरिन्छ, मैले माग्दा हाकिमले कोटा छैन भन्छ’, सबैले त्यसो नगर्न सम्झाएपछि सन्तोष भएका अन्सारीले दिवा भोजको क्रममा अन्नपूर्णसँग भने, ‘म व्यक्तिगत रुपमा सम्पन्न मानिस हुँ, तर यस्तो अन्याय र घुसखोरी रोकिनुपर्छ’ ।
उनले आफूले आत्महत्याको चेतावनी दिन गहुँमा प्रयोग गरिने किटनासक विषादी बोकेर आएको पनि बताए । आयल निगम भलवारी डिपो प्रमुख अशोक शाहले भने इन्धन वितरणमा पक्षपात नभएको दाबी गरेका छन् । आजको अन्नपूर्ण अनलाइनमा महेन्द्र थापाले लेखेको खबर छ |