गुल्मी बलेटक्सारको तिज मिलन तथा लाखेनाच बुटवलमा

गोकर्ण प्रकास ज्ञवाली, भदौ १५ । गुल्मी बलेटक्सारको रुपन्देहीवासी समुदाय यतिवेला जुर्मुराएको छ । तिज नजिकिदै गर्दा तिजको जमघटसंगै आफ्नो क्षेत्रको पहिचान बोकेको नेवारी संस्कृति अन्तरगतको लाखे नाचलाई बुटवलमा प्रदर्शन गर्ने तयारीमा जुटेको बताईएको छ ।
गुल्मी रुपन्देही सम्पर्क समाजको सक्रियतामा रुपन्देहीको शंकरनगर, वनवाटिकामा तिज मिलन तथा लाखे नाच कार्यक्रम आयोजना गर्न लागेको समाजका सचिव विर व. क्षेत्रीले जानकारी गराएका छन् । 

सचिव क्षेत्रीका अनुसार समाजले भोली विहान ८ बजेदेखि १० बजेसम्म साधारण सभा तय गरेको छ । लगत्तै तिज मिलन तथा दरखाने कार्यक्रम शुरु भएर वेलुका ४ बजेसम्म निरन्तर चल्नेछ । उनका अनुसार वेलुका ४ बजेपछि बलेटक्सार क्षेत्रको पहिचान बोकेको तथा लोपउन्मुख नेपाली मौलिक संस्कृति लाखेनाच प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए । लाखेनाचमा सहभागी हुन सबै बुटवलवासीलाई उनले अनुरोध पनि गरेका छन् । 
विभिन्न सामाजिक कार्यमा विगत केहीवर्ष सक्रिय रहदै आएको बलेटक्सार सम्पर्क समाज रुपन्देहीले समाज सेवालाई आफ्नो धेय बनाएर अघि बढिरहेको छ ।