मदन पौड्याल/उज्यालो । काठमाडौं, असार ६ – सिन्धुपाल्चोक इचोक घर भएकी आशा तामाङ (नाम परिवर्तन) अहिले माइती नेपालको संरक्षणमा हुनुहुन्छ । नौ वर्षको उमेरमै जन्म दिने आमाको काख छुटेकी उहाँ अहिले २१ वर्षकी हुनुभयो । परिवारमा एकपछि अर्को गर्दै पीडा र समस्या थपिंदै गए ।
वैशाख १२ गतेको भूकम्पले अझै समस्या थप्यो ।
बाबुलाई कहिल्लै खुशी र सुखी देख्न पाउनुभएन उहाँले । मनमा पीडा त छँदै थियो, विकल्प अरु नदेखेपछि विदेश जाने निर्णय गर्नुभयो । ‘बुबाले त भन्नुभएको थियो तिमी एक्ली छोरी, बुढेसकालको सहारा नै हो, अरुका त दिदीबहिनी दाजुभाइ सबै छन् । मेरो भन्नु त तिमी मात्र हो विदेशमा पनि सुख हुँदैन’ सम्झँदै आशाले भन्नुभयो ।
आफ्नै बुबाले भनेको नसुनेर उहाँले मामा नाता पर्नेको मिठो आश्वासन मात्र सुन्नुभयो । अनि विदेश गएर राम्रो कमाउने र बुबालाई पनि खुशी बनाउने सपना बुन्नुभयो । उहाँको सपना केवल सपनामै सीमित भयो । कारण आफ्नै आफन्तले मानवीयता बिर्से ।
भूकम्प जानु दुई तीन महिना अगाडिदेखि नै विदेश जानलाई प्रक्रिया सुरु गरेकी उहाँले नागरिकता र पासपोर्ट बनाइसक्नु भएको थियो । विदेश जानकै लागि २१ बर्षकी उहाँले नागरिकता र पासपोेर्टमा २४ बर्ष बनाउनुभएको छ । उमेर बढाएर भिषाका लागि समेत प्रक्रिया थाल्नुभएको थियो ।
भिषा आउने आसमा कुरेर बसेकै बेला भूकम्प आयो, तर भिषा भने आएन । गाउँमै छदाँ उहाँले सुन्नुभयो थियो, काठमाडौंबाट नयाँलाई डाइरेक्ट श्रम खुलेको छैन रे । नयाँलाई बन्द छ भनेपछि उहाँ मामा नाता पर्ने अशोक तामाङसँग सोधीखोजी गर्नुभयो भिषा कहिले आउँछ भनेर ।
यसबीचमै मामा अशोकले भिषा आएको छ भनेर सुनाए । एकपटक त उहाँलाई विश्वास लागेन, तर पछि गाउँकै अरु दिदि बहिनीको पनि भिषा आएको छ भनेपछि होला भन्ने लाग्यो । काठमाडौंबाट नयाँलाई जान नमिल्ने भनेर अशोकले नयाँ बाटो सुल्झाए ।
सिन्धुपाल्चोकबाट काठमाडौं, काठमाडौंबाट हेटौडा, हेटौंडाबाट काकडभिट्टा हुँदै भारतको बेङलोर जाने र उतैबाट दुवई उड्ने । ‘दिदिबहिनी सात जनालाई त घरको काम भनिएको थियो तर मलाई कम्पनीमा, अफिसमा भनेको थियो, मैले पनि राम्रो होला भन्ने सोचें, विश्वास पनि लाग्यो उ एजेन्ट मान्छे’ तामाङले भन्नुभयो ।
त्यसपछि सबै दुबई जान भने गाउँबाट हिँडे । काठमाडौंमा दुई दिन बसेर काम गर्नुपर्ने सबै सकेर बेङलोरका लागि हिँडेको अवस्थामा हेटौंडा बसपार्कमा प्रहरीले रोके । शंका लागेर सोधपुछ गरेका प्रहरीसँग सबै कुरा राखेपछि माइती नेपालले उद्धार गरेको हो ।
अहिले उहाँको नागरिकता समेत दलालकै हातमा छ । बुबाले भनेको नमानेर मामालाई विश्वास गरे धोका भयो । ‘समयमै उद्धार भएकाले बिग्रेको केही छैन भन्ने सोचेर नयाँ विकल्प खोन्दैछु । यहीँबाट केही काम सिकेर गाँउ जाने बिचार छ । अब विदेश जान्न’ आशाले भन्नुभयो ।
उहाँसँगै गाउँका आठ र काभ्रेकी एकजना गरि नौजना किशोरी अवैध रुपमा दुवई जान लागेका थिए । उनीहरुलाई घरमा काम गर्ने भनिएपनि काम र तलबको बारेमा कुनै जानकारी थिएन ।
काभ्रे अनिकोटकी कान्छीमाया तामाङ्गलाई भने दलालले घुम्न जाउँ भनेर फकाए ।
मलेसिया १४ महिना बसेर आउनुभएकी उहाँले विदेश समेत भोग्नुभएको थियो तर दलालले अनेक बाहानामा फकाउने गर्छन् भन्ने समेत थाहा भएन । उहाँ पनि अशोकको आश्वासनमा फस्नुभयो । भूकम्प प्रभावित जिल्लाका चेलीबेटीलाई दलालले बिभिन्न प्रलोभन देखाएर ओसारपसार गर्ने गरेको पाइएको छ ।
भूकम्पपछि मानव तस्करी बढेको छ । आर्थिक रुपमा कमजोर परिवारका चेलीबेटी दलालको प्रलोभनमा परेर बेचिने क्रम बढेको छ । भूकम्प प्रभावित सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाबाट अवैध तरिकाले विभिन्न नाका हुँदै विदेश पुर्याउने गरेका छन् ।
यस्तो काममा नजिकैका आफन्त बढि सक्रिय रहेको पाइन्छ । जीविकोपार्जनका लागि समस्या थपिएको छ भने आयस्रोतका काम बन्द जस्तै भएका छन् । भूकम्पपछि जोखिमपूर्ण अवस्थामा रहेका ३ सय २२ जना महिला तथा बालबालिकालाई सम्भावित बेचविखनबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ । भूकम्प प्रभावित जिल्लाका उनीहरुलाई बिभिन्न ११ नाकाबाट उद्धार गरिएको तथ्याङ्क छ ।