दाइ कुशल मंगल
हुनुहोला | प्रदेशी जिबन न हो सबैले भन्छन आफ्नो
देश र आफ्नो
गाउँ-ठाउँ जस्तो हुन्न्, हात-गोडा
खियाएर मिहिनेत गर्नुपर्छ | दाइ
पल्लाघरे मदनले होटेलमा भाडा माझ्ने काम गर्दै यहाँ परिवार, आफन्तजन र साथीभाईलाइ कम्प्युटर डाटा इन्ट्रीको काम गर्छु सजिलो
काम छ भनेर ढाट्ने गर्दो रैछ | त्यस्तै
धेरैले बिदेशमा आफु मरेर पनि यहाँ कसैलाई त्यो दुख: देखाउन नचाहने रैछन बिचरा
प्रदेशीहरुले भन्ने पनि थाहा पाएँ | दाइ हजुरले
पनि राम्रै छ काम भन्नुहुन्छ | अरु साथीभाइ
रिस्टपुस्ट छन् तपाई सुकेर लौरो झैं हुनुभाको देख्छु किन होला ? बिदेशमा दुख छ भने यहि आफ्नै गाउँठाउँ फर्कनु बरु सुख दुख जे जस्तो
मिल्ला यहि माटोमा खनी खोस्री
खाउंला | आफ्नो देश अनि आफ्नो घर जस्तो त पक्कै प्रदेश हुन्न
होला ?
बालाइ दमले गाल्दै गाको छ, त्यै माथी शिरान पाटा गोठसम्म बाटो उक्लिन पनि
धौ मान्नुहुन्छ | आमा मेला पात घाँस दाउरा गर्दै ठिक्क छ | बिचमा केहि महिना
बिमारले थलिनु भएपछि अहिले ताकत छैन शरीरमा भन्नुहुन्छ | अहिले फेरी उहाँलाई घुडा
दुख्ने बिमार शुरु भएको छ | गाउँभरि असारे भाका घन्काउदै धान रोपाइँ चलिरहेको छ |
हाम्रो खेत बाँझो बसेको छ | बाले सक्नु भएन गरि खाऊ भन्दा पनि गरेर खाने मान्छे
गाउँमा पाईन छोडे |
पढाइ सकेपनि म बेरोजगार नै छु | अहिले यहि असार २५-२६ गते शिक्षा सेवा
आयोगको जांचको तयारीमा छु | आउँदो साउन १३ गतेपछि बिद्युत प्राधिकरणले लिखित
परिक्षा लिंदै छ त्यसको पनि तयारी गरिरहेको छु | बिभिन्न आयोगले मागेको पदपूर्तिको
लागि फाराम भर्दा मात्रै हजुरले मेरो लागि पकेट मनि भनेर पठाएको सबै पैसा सकियो |
बाले लामकाने खसी बेचेको पैसाले बटौलीमा डेराभाडा खर्च धानेको छु | कोठाभाडा महंगो
छ | गाउँको सामान्य परिवारबाट राम्रो र उच्च शिक्षाको लागी शहर पुगेका
बिद्यार्थीलाइ शहरमा खर्च धान्न धौ धौ छ | धौ धौ ले एक छाक पेट भरेको भरमा ति
बिद्यार्थीको दिमाग कसरि चल्दो हो, कसरि जाँचमा राम्रो नम्बर ल्याएर आफ्नो क्षमता
पर्दर्शन गर्न सफल होलान र ? बाले पढाई खर्च भर्न नसक्नु भएको र परिवारको स्थिति
नाजुक भएकोले हजुर बिदेशिन बाध्य हुनु परेको परेको पिडा हजुर आफै अनुभब गरेको कुरा
हो |
घरमा भाउजु पनि सन्चै हुनुहुन्छ | भतिज सन्चै त छ तर उसको मुहारमा कैले खुसि देखिन्न | भाउजु बिहानै देखि ब्युटिपार्लरको ट्रेनिंग
तिर लाग्नु हुन्छ | भतिज स्कुल जाने बेला मम्मी खोजेर रोइरहन्छ | आमाले धेरै सम्झाएर
स्कुल पुर्याउनुहुन्छ | भाउजुको बेलुका
फर्कने समयको ठेगान हुन्न | घरको काम भाउजुबाट आश गर्नु पर्दैन | आमासँग मुखैमुखै लाग्ने बानीले आमा प्रताडित
हुनुहुन्छ | छिमेकी लाहुरे दाइकी श्रीमतीसंग मस्की मस्की
बजार डुलेको देखियो भनेर गाउँलेले कुरा काट्छन्, ब्युटीपार्लर भन्ने बहाना हो तेरी बुहारीको भनेर
आमालाइ पनि भन्न भ्याएछन् | लाहुरे
दाइकी श्रीमतीले आफ्नो अस्मिता बेचेर चर्चा पाएको हल्ला तपाइको कान सम्म पनि पक्कै
पुगेको होला | हजुरले केहि महिना अघि पठाएको आइफोन अहिले भाउजुको हातमा देखिन्न
मतलब बदलिएको छ | ल्यापटप भाउजुले बेचेको भन्दै हुनुहुन्थ्यो गाउँतिर देख्दैछु | हामीले
भाउजुको चाँसो लिन नमिल्ने, कहाँ
जानुहुन्छ, के गर्नुहुन्छ सोध्न नमिल्ने, हजुरको पठाएको पैसा कति सुरक्षित छ, छैन ख्याल गर्नुहोला | गाउँलेहरुसंग भाउजुको दिनचर्या बुझ्दै गर्नु होला |
गाउँमा परिवार भाड्ने मान्छे पनि हुन्छन
सतर्क हुनुहोला | भाइको यो
सूचनालाइ सकारात्मक सोचेर सतर्कता अपनाउनु नै दाजुको बुद्धिमानी हुनेछ |
हुन त म हजुरको भाई हुँ | हाम्रो गाउँ शहरमा कती प्रदेशीका श्रीमतीहरु
भएभरको कमाई कुम्ल्याएर पोइल गइदिने, त्यै पैसामा मोजमस्ती गर्ने, अनाबस्यक खर्च
गर्ने आदी घटना पत्रपत्रिकामा पढेको, सुनेको र आफ्नै गाउँठाउँमा घटिरहेका देखेको
आधारमा दाइभाइको सम्बन्धबाट माथी उठेर सचेत गराउन पत्र कोर्ने जमर्को गरेको हुँ | अन्यथा
केहि होइन | बिदेशमा तपाइले बगाउनु भएको पसिना, यहाँ कसरि सिंचाई भैरहेको छ
भन्नेबारे आफै सचेत हुनुहुनेछ भन्ने पूर्ण बिस्वस्त हुँदै पत्रको बिट मार्छु |
हजुरको आज्ञाकारी भाइ
गोकर्ण प्रकाश ज्ञवाली |