भारत गएका युवालाई मधेसी मोर्चाका कार्यकर्ताले काटेर फालिदिए

आस्विन २० बुधवार, भैरहवा : भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् ।
किनमेलका लागि बुधबार दिउँसो भारत गएका मंगोल अनुहार भएका ती युवालाई कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् ।

मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर ती युवाको दाहिने हातका चारवटा औंला काटिदिएका छन् ।
कुटपिट र धारिलो हतिायरले काटिएका ती युवाको अवस्था चिन्ताजनक रहेको छ ।
भारतीय भूमिमा प्रदर्शन गर्ने क्रममा मोर्चा कार्यकर्ताहरुले अहिले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साइरहेका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेका हुन् ।
भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत गुच्छा हानिरहेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि बेलहिया नाका ठप्प रहेको छ । यो नाकाबाट बुधबार बिहानैदेखि कुनै पनि मालवाहक साधन भित्रेका छैनन् । मंगलबार राति नै भारतीय सरकारको गेस्ट हाउसमा पाहुना बनेका राजेन्द्र महतोको सुरक्षाका लागि त्यहाँ दोब्बर बढी भारतीय सुरक्षाकर्मी खटाइएको छ ।-अन्नपूर्णपोस्ट