काठमाडौं, मंसिर ९ । भारतको सत्तारुढ दल ‘भारतीय जनता पार्टी’ (भाजपा) का एक सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा व्यक्त गरेका छन् । भाजपाका सांसद कीर्ति आजादले दरभंगामा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनले नेपालले १५ वटा जिल्ला भारतलाई ‘फिर्ता दिनुपर्ने’ बताए । उनको भनाईमा ती जिल्ला अंग्रेजले नेपाललाई दिएका हुन् ।
अंग्रेज शासन अन्त्य भएपछि ती जिल्लालाई भारतमा फर्ककाउन कसैले पहल नगरेको उनको भनाई छ ।
सांसद आजादले संसदमा आफूले यसबारे कुरा उठाउने पनि बताएका छन् । अंग्रेजले नेपाललाई दिएका ती जिल्ला फिर्ता गराउनका लागि आफूले पहल गर्ने बताउँदै उनले भनेका छन्, ‘नेपालले ती जिल्ला भारतलाई फिर्ता दिएन भने खोस्नु पर्दछ ।’
उनको यो भनाईले भारतीय विस्तारवाद नीतिको पक्षपोषण गर्नुका अतिरिक्त नेपालप्रति भारत कहिल्यै मित्रवत सम्बन्ध राख्न चाहँदैन भन्ने तर्कलाई पुष्टि गरिदिएको छ ।
सांसद आजाद पूर्व क्रिकेट खेलाडीसमेत हुन् ।
क्रिकेट सम्बन्धी नयाँ नियम तथा क्रिकेटका कलासँग उनी बढी पोख्त हुन सक्लान् तर ईतिहासका कुशल ज्ञाता होइनन् भन्ने तथ्यलाई ‘विशाल नेपाल’को नक्साले नै प्रष्ट पार्दछ । जतिबेला भारतले अंग्रेजको दासत्व झेलिरहेको थियो, नेपाल त्यतिबेला टिस्टा–काँगडासम्म फैलिएको थियो । अंग्रेजसँगको सन्धीकै कारण नेपालले ती भूभाग गुमाएको हो जो अहिलेसम्म फिर्ता ल्याउनका लागि कसैले पहल गरेको छैन ।
यो वास्तविकतालाई एकातिर छाडेर भाजपाका सांसद आजादले नेपालका १५ जिल्ला भारतले खोस्नुपर्ने बताएर भारतीय स्वार्थलाई उजागर गरिदिएका छन् ।