धरानमा गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु

गाइको मलमुत्र बाट तयार ग्यास भरिदै - तस्बिर - इमेज खबर
ज्ञवा संचार, मंसिर २७ । भारतीय अघोषित नाकाबन्दी र मुलुकमा देखिएको पेट्रोलियम पदार्थ र ग्यासको असहज आपूर्ति बीच देशमै बिभिन्न बैकल्पिक उपाएको खोजि हुन् थालेको छ | इन्धनको चरम अभाव भइरहेको बेला इन्धन बिनाको यात्रा सहज बनाउने बिकल्पको खोजीमा मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्साको परिक्षण सम्पन्न गरिसेका छन् | (बिद्यार्थीले गरे हावाबाट चल्ने रिक्साको निर्माण) त्यस्तै विद्युतीय एबम सोलार रिक्साको प्रयोग बढेको छ | त्यस्तै देशभर खाना पकाउने ग्यास अभाव भइरहँदा केहि समय अघि झापामा मानव मलमूत्र व्यवस्थापन गरी हजारभन्दा बढी परिवारले खाना पकाइरहेको खबर सार्बजनिक भएको थियो (मानब मलमुत्रबाट ग्यास उत्पादन शुरु)| हालै सुनसरीको धरानमा फेरी गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु गरिएको छ ।
स्थानीय व्यवसायी घनेन्द्र कार्की र लोकबहादुर खापुङले ५० लाख रुपैयाँको लगानीमा २ सय घनमिटर क्षमताको बायो ग्यास प्लाण्ट निर्माण गरी बायो ग्यास उत्पादन सुरु गरेका हुन् । भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका कारण खाना पकाउने एलपी ग्यासको हा–हाकार भइरहेका बेला बायो ग्यास उत्पादनले केही राहत मिल्ने अपेक्षा स्थानीयले गरेका छन् । धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा निर्माण गरिएको बायो ग्यासबाट दैनिक १० सिलिण्डर ग्यास उत्पादन गरिँदै आएको छ । यो बायो ग्यासबाट ६२ दशमलव ५ केभी विद्युतसमेत उत्पादन हुने भारतीय इन्जिनियर अरविन्द सिंहले जानकारी दिए । कार्की र खापुङले सञ्चालनमा ल्याएको केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टरमा पालिएका गाई, बंगुर, खसीको मलमुत्रबाट बायो ग्यासको उत्पादन सुरु गरिएको हो ।