ज्ञवा संचार, फागुन ५ । यही फागुन ८ र ९ गते सदरमुकाम तम्घासमा आयोजित नेपाली काङ्ग्रेस गुल्मी जिल्ला कार्य समितिको अधिवेसनको तयारीसँगै उम्मेदवारहरुवीच प्रतिष्पर्धा पनि शुरु भएको छ । सभापति पदका लागी हालसम्म निवर्तमान सभापति चन्द्रबहादुर के.सी., छन्दबहादुर पहराई, शालिक पन्थी, दामोदर भूषाल, भुवन श्रेष्ठ आकाङ्क्षी देखिएका छन् ।
सभापति के.सी. अघिल्लो अधिवेशनमा सर्वसम्मत सभापति भएका थिए । यो खेल उनका प्रतिष्पर्धी चन्द्र भण्डारीको थियो । ने.वी.संघ देखि राजनीति गर्दै आएका र जिल्ला विकास समिति गुल्मीका सभापति समेत भएका के.सी.लाई जिल्लामा स्थान दिएर आफू केन्द्रिय सदस्य बन्ने रणनीतिमा भण्डारी सफल भएका थिए । के.सी.ले त्यस्तै निर्विरोध पाएमा यसपटक पनि दोहोरिने चाहना व्यक्त गरेको बुझिएको छ । यद्यपि युवाहरु निर्वाचनको पक्षमा छन् । निर्वाचन भएमा सबैभन्दा बलिया उम्मेदवारको रुपमा छन्दबहादुर पहराई देखिएका छन् । नेवी संघ, तरुण दल हुँदै काङ्ग्रेसको जिल्ला कार्य समितिमा दुई कार्यकाल सचिव भईसकेका पहराई जुझारु, स्वच्छ छवि, कर्मठ युवा र जनजाति भएकाले अन्यभन्दा वलिया देखिएका हुन् ।
हाडहाडे गाविस निवासी पहराईले गुल्मीको क्षेत्र नम्वर ३ बाट सर्वाधिक मत ल्याई महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । क्षेत्र नम्वर ३ का सबै नेता कार्यकर्ता उनको पक्षमा खुलेर लागेका र क्षेत्र नम्वर १ र २ मा उनी लोकप्रिय भएकाले उनको जित सुनिश्चित देखिएको हो । उनी यतीसम्म विवेकी छन् की हाडहाडेको गाउँ अधिवेशनमा अल्पसंख्यक कोटामा ब्राह्मणलाई क्षेत्रिय प्रतिनिधि निर्वाचित गराएका थिए । उनको लगनशिलता र इमान्दारिजस्ता आभूषणले कार्यकर्ता उनीप्रति आकर्षित छन् ।
‘२०५१ सालमा उनलाई मैले रेसुङ्गा क्याम्पस गुल्मीको स्ववियु सभापतिको टिकट दिएर राजनीतिमा खुट्टा टेकाईदिएको थिएँ, त्यस यता उनी निरन्तर काङ्ग्रेसप्रति वफादार भएर इमान्दारी पूर्वक काम गरेकाले उनी उक्त पदका लागी योग्य व्यक्ति हुन्’ पहराईका राजनीतिक शिक्षक महेन्द्र थापाले भने ।