बुटवल कालिकाका बिध्यार्थीले खानामहोत्सब गर्ने

ज्ञवा सञ्चार, पुष २१ । रुपन्देहीको बुटवलमा अवस्थित कालिका उच्च माध्यमिक विद्यालयमा  शुक्रबार खाना महोत्सब(फुड फेस्टिभल) आयोजना हुने भएको छ ।
विद्यालयको आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुले पेशा र व्यवसाय नामक विषयमा सिकेको सीपलाई प्रयोगात्मक रुपमा प्रस्तुत गर्न विद्यार्थीहरुले खाना महोत्सव गर्न लागेको पेशा विषयका विषय संयोजक सुमेर रत्न शाक्यले जनाएका छन् ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले स्थानीय र जातीय परिकारहरु बनाएर महोत्सवमा राख्ने र महोत्सवमा उठेको रकम यसै विद्यालयमा अध्ययनरत गरिव तथा बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री खरिद गर्न खर्च गरिने विद्यार्थीहरुले जनाएका छन् । खाना महोत्सवमा विद्यार्थीहरुले पेशा व्यवसाय विषयको प्रयोगात्मक गर्ने क्रममा उत्पादन गरेका च्याउका विभिन्न परिकारहरु चाख्न पाइनेछ । त्यसैगरि चिकन रोष्ट, मम, पकौडा, चुकाउने, सेलरोटी, बटुक, छोईला , पुरी,कवाफ लगायतका परिकारहरु पनि सुपथ मुल्यमा उपलब्ध हुने आयोजक विद्यार्थीहरुले जनाएका छन् ।
कालिका माध्यमिक विद्यालयमा ६ देखि ८ कक्षा सम्म झन्डै ७ सय विद्यार्थी अध्यनरत छन । आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले  पेशा व्यवसाय विषय अन्तर्गत विद्युत वायारिंग, तरकारी खेती तथा विउ उत्पादन, च्याउ उत्पादन र  कम्प्युटर मर्मत तालिम प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जनाएका छन् ।
खाना महोत्सवमा उपस्थित भएर विद्यार्थीहरुको सिपको अवलोकन गर्न र सामाजिक भावनाले गर्न लागिएको काममा सहयोग गर्न विद्यालयले सबैलाई अनुरोध गरेको छ । कालिकालाई मुलुककै सामुदायीक विध्यालयतर्फको नमूना विध्यालयको रुपमा पनि लिईन्छ ।