नेविसंघ गुल्मी–त्रिचन्द्र सम्पर्क समितिको आयोजना र गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा गुल्मीमा पुख्र्यौली घर भई जिल्ला वाहिर विभिन्न क्षेत्रमा रहेर एसएलसी–२०७१मा मुलुककै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दुई विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु इङ्लीस बोडिङ स्कूलबाट एसएलसीमा सहभागी दिक्षित पौडेल नेपाल प्रथम(९४ प्रतिसत) र रुपन्देहीको मणिग्रामस्थित शान्ति नमूना सामुदायिक स्कूलबाट एसएलसीमा सहभागी भावना अर्याल(९३.८७ प्रतिसत) नेपाल द्वितिय एवं सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम दुई विद्यार्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल प्रथम विद्यार्थी दिक्षित पौडेलले आफू डाक्टर बनी मुलुकमै रहेर सेवा गर्ने बताएका थिए । त्यस्तै सामुदायिकतर्फबाट नेपाल प्रथम भावना अर्यालले युवाहरु विदेशिने क्रमलाई आफुले रोक्ने उद्घोष गरेकी छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित सभासद भण्डारीले गुल्मेलीहरु अत्यन्तै पृथक रहेका र हरेक कार्यमा सफलता पाईरहेको बेला फेरी यी दुई भाईवहिनीले अर्को उदाहरण प्रस्तुत गरेको बताए ।
आयोजक समितिका अध्यक्ष सरोज अर्यालले गुल्मेलीहरुले कैंले लोकसेवामा त कैंले राजनीतिमा चर्चा बटुललिरहेको बेला शैक्षिक क्षेत्रमा यी दुई विद्यार्थीले गुल्मीको नाम चम्काएको बताएका छन् ।
एसएलसीमा नेपाल प्रथम हुन सफल १५ वर्षिय दिक्षित पौडेलको पुख्र्याैली घर गुल्मीको तम्घासमा हो भने नेपाल द्वितिय एवं सामुदायीकतर्फ नेपाल प्रथम हुन सफल भावना अर्यालको घर गुल्मी धरमपानी गाविसमा रहेको छ ।