नयाँ प्रधानमन्त्री र चुनौती

-बिजय ज्ञवाली।
           ३३८ मतले देशको ३८औं प्रधानमन्त्रीमा चुनिन सफल कमरेड के.पी.ओलीलाई हार्दिक बधाई तथा शुभकामना। साथै सफल कार्यकालको अपेक्षा पनि गर्दछौं। अब देशले नयाँ संविधानसंगै नयाँ नेतृत्व पनि पाएको छ। भूकम्पको त्रासदी छांयासंगै सम्पन्न गरिएको संविधान लेखन कार्य र उक्त संविधानमा चित्त बुझाउन नसकेका असन्तुष्ट पक्षद्वारा गरिएको मधेस आन्दोलन अनि नवनिर्मित संविधान र मधेस आन्दोलनकै फेरि समातेर भारतद्वारा लगाईएको नाकावन्दीमाझ के.पी. ओलीले मुलुकको ३८ औं प्रधानमन्त्रीको रुपमा मूलुकको वागडोर सम्हाल्न पुग्दैछन।

   देश विषम अवस्थामा छ। भूकम्पका डोवहरु अझै उस्तै छन। देशको समथर भूमी दूईमहिना यता लगातार अशान्त छ। यसैमाथी नयाँ संविधान र मधेस आन्दोलनलाई कारक देखाउंदै बिगत दूईहप्तादेखी भारत नेपालमाथी नाकावन्दीको हदसम्म ओर्लिएको छ। जसले गर्दा चाडवाडको मुखैमा आईपुग्दा सम्म पनि मुलुकले इन्धन लगायत औषधोपचार सम्मका अत्यावश्यक सामाग्रीहरुको चरम अभाव झेल्नुपरेको छ।  मानवीय जीवन अप्रत्याशित रुपमा प्रभावित बनेको यस कालखण्डमा निकाशको कुनै गुन्जाईस नै देखिंदैन। बरु यस्तो परिस्थिती उत्पन्न हुनुमा उल्टै भारतले नेपालमाथी नै दोषहरु थोपर्दै आफू ओभानो हुने गरेको छ।
     र, यहिं संक्रमणको चरम उत्कर्षमाझ सत्ताको यात्रा तय गरेका के.पी.ओलीको सत्ता यात्रा त्यति सहज भने अवश्य हुनेछैन, बरु अझ चुनौतिपूर्ण  रहनेछ। संगीव घडिमा मुलुकको वागडोर सम्हाल्न पुगेका ओली अवको कार्यकालभर अग्नीपरिक्षाको घेरा मै रहनेछन। यसै पनि भारत दाहिना नभएको बर्तमान अवस्थामा मुलुकको प्रधानमन्त्री बन्न पुगेका ओलीले सत्ता संचालनमा त्यति सहजता महसुस भने गर्नेछैनन। सर्वसहमतिको सरकार निर्माण गर्ने भद्र सहमती गरेका दलहरु सरकार गठनको डिलमै आईपुग्दा भने बिभाजित भई अलग अलग रुपमा प्रतिस्पर्धा गर्नपुग्नु निश्चय पनि सुखद पक्ष रहेन। यसबिचमा पर्दापछाडी अनेकन दृश्यहरु मन्चन भईसकेका थिए। दिंउंसोको उज्यालोमा राष्ट्रपति, प्रधानमन्त्री कुनै पदमा पनि बस्दिन भनेर छर्लंग पारेका निवर्तमान प्रधानमन्त्रीले छिप्पिंदै गरेको सांझसंगै आफ्नै छायाँमा आफै कोल्टे फेर्न खोज्नु उनको ब्याक्तिगत जीवन मात्र नभएर सिंगो कांग्रेस पार्टी इतिहासको लागि यौटा धव्वा पनि हो।
    सुशीलको ब्याक्तिगत राजनैतिक जिवनमा सवैभन्दा अपरिपक्व निर्णय ऐले आएर भएको छ, जुन निर्णयले उनले आजसम्म आर्जेको छविलाई नै ध्वस्त बनाउने काम गरेको छ। आफ्नै घरभित्रका सदस्य र केही बाह्य तत्वहरुले उनीमाथी रचिएको षड्यन्त्रको सूइँको सम्म पनि पाएनन सुशिलले। त्यसै त बुढ्यौली शरीर, यसै पनि मानशिक एवं शारिरिक रुपमा कमजोर भैइहाल्छ। मेरो ख्यालमा सुशिलले केही पार्टिकै "फटाहा" र बाह्य शक्तिको चर्को दवाव थेग्नै सकेनन  र अन्त्यमा निर्णय पनि बदल्ने अवस्थासम्म आईपुगे सुशील। नत्र राजनिती गर्दा गर्दा खारिएका सुशिल जिवनको यो उत्तरार्धमा आईपुग्दा यति सहजै कांचो काम गर्न  राजी हुनेथिएनन। उम्मेदवारी पछि पनि सुशिलको अनुहारमा उत्साहको  छनक सम्म पनि मिल्दैनथ्यो।यसबाट पनि प्रष्ट हुन्थ्यो कि सुशील स्वतस्फूर्त भन्दापनि ठूलो षड्यन्त्रको सिकार उनलाई बनाईएको थियो। ती षड्यन्त्रकारीहरु अन्तैका नभएर पार्टिभित्रकै अनुहारहरु हुन।
   गिरिजाको छहारीमा सुशीललाई सहज थियो, कोईराला परिवारको उत्तराधिकारीका रुपमा चित्रित हुन्थे, बेलाबखतको मधुर घुर्काई सामसुम गिरिजा आफै  पारिदिन्थे, राजनितिको खेती चलेकै थियो। एकपटक बेबी किंग राख्ने भए कांग्रेस उपसभापति पद नै छाडिदिन्छु भनेर नेपालगन्ज बिमानस्थलमा कुर्लिएका सुशील त्रिभुवन विमानस्थलमा ओर्लिन नपाउंदै बोली फेरेर पवित्र भै गिरिजा निवासस्थल छिर्ने ब्याक्ती हुन उनी। उमेर र स्वास्थ्य दुवै पाको अवस्थाबाट गुज्रिराखेको सुशिलको मुटु उत्ति नै कमजोर पनि छ। रात रहे अग्राख पलाउँछ भनेझैं दिनभर  कुनैपनि पदमा नबस्ने घोषणा गरेका सुशील रातभरिमा फेरिएको दृश्यसंगै सुशील पनि अलग्गै रंगमा पटाक्षेप हुनपुगे। स्रोतका अनुसार, शुक्रबार राति नै प्रधानमन्त्री कोइराला र भारतीय राजदूत रणजित रायबीच पटक–पटक संवाद भएपछि कोइरालाले निर्णय परिवर्तन गरेको कांग्रेसकै उच्च स्रोत बताउंछ। यसबारेमा कांग्रेस नेता चन्द्र भन्डारीले तत्काल प्रतिक्रिया जाहेर गर्दै भनेका थिए,"प्रधानमन्त्री पदको उम्मेदवारको लागि नेता सुशील कोइराला र के.पी. ओलीले नामांकन गरेका छन। तर जो जे भएपनी सुशील कोइरालाको नामांकन मेरो बिचारमा इतिहासकै सवैभन्दा ठूलो भूल हुनेछ। जसले उहाँलाई सल्लाह दिए, त्यो सल्लाह तिनिहरुको थिएन। मेरो बिचारमा धेरै प्रतिक्रिया आउन सक्छ, तर भोलि इतिहासले प्रमाणित गर्नेछ।" यसबाट पनि प्रष्ट हुन्छ कि शुशिलले दवाव कत्ति पनि थेग्न सकेनन। बाह्य चलखेल कांग्रेस पार्टिमा एकाएक यसरी घुस्यो कि सिङ्गो पार्टी पंक्ति नै नि:शव्द र स्तब्ध हुन पुग्यो। पार्टिको गौरवपूर्ण ईतिहासलाई तिलस्मी दिंदै कतिपय नेताले आफ्नो राजनैतिक अंकगणित लाभहानीको हिसावमा सुशिललाई यसरी प्रयोगमा ल्याए, जुन सुशिलले मेसै पाएनन।
    मूल समस्या मधेसमै रहेको अवस्थामा ओलीले भने मधेसको उल्लेख्य समर्थन पाउन सकेनन। मधेस समस्यालाई भारतसंग जोडेर हेर्ने गरिएको कतिपय दृष्टान्तमा ओलीले यस समस्या समाधानमा ठुलै कसरत गर्नुपर्ने देखिन्छ।खासमा मधेसविरोधिका रुपमा चित्रित ओलीले आगामी दिनहरुमा मधेसको मागलाई कसोरी सम्बोधन गर्नेछन त्यो त समयक्रमसंगै देखिंदै जानेछ तर बर्तमानमा त यत्ती भन्न सकिन्छ कि मधेस समस्या नसुल्झाउंदासम्म भारतसंगको सम्बन्धमा पनि हार्दिकता आउनेछैन।
    नवनिर्वाचित प्रधानमन्त्री के.पी.शर्मा ओलीको प्रमुख दायित्व मुलुकलाई निकाश दिनेतर्फ अग्रसर हुनुपर्छ। भुकम्प लगत्तै चर्किएको तराई आन्दोलन र साथमा छिमेकी मुलुक भारद्वारा लगाईएको अघोषित नाकावन्दीले मुलुक झनै जर्जर भैसकेको छ। सवैभन्दा पहिला नाकावन्दी फुकुवा गर्नेतर्फ ओली अग्रसर हुनुपर्ने देखिन्छ। यसका लागि यथाशिघ्र यौटा बलियो कुटनैतिक संयन्त्र स्थापना गर्नुपर्दछ। कमजोर एवं फितलो कुटनितिको परिणाम आज मुलुकले बेहोर्दै आएको छ। दुई देश बिचमा हार्दिकता एवं सौहार्दताको वातावरण बन्न नसक्नु त्यहिं कमजोर कुटनितिको कारण नै हो। उच्चस्तरीय बार्ताद्वारा भारतलाई आश्वस्त पार्दै नेपालको जनजिवनलाई सहजता पार्न नसक्नु हाम्रै कुटनितिक कमजोरी हो। तसर्थ परराष्ट्र मामलामा दलिय भागभण्डामा भन्दा पनि योग्य, अनुभवी एवं दक्ष पात्रलाई जिम्मेवारी दिईयो भनेमात्र नेपालको कुटनिती संयन्त्र बलियो हुन जानेछ। दलिय भागवण्डाको जिम्मेवारी धेरै दूरदर्शी हुंदैन बन्ने कुरा बिगतका अनुभवले पनि सिकाएका छ्न।
    दोस्रो, मधेस आन्दोलनलाई सम्बोधन गर्नसक्नु ओलीको अर्को चुनौती हो। बिगत दुई महिनादेखी संघर्षरत मधेसवादी दलहरुका जायज मागहरुलाई सम्बोधन गर्न अधिकतम लचकताका साथ प्रस्तुत हुनुपर्ने देखिन्छ। भारत चिढिनुको मूख्य कारण मधेस आन्दोलन पनि हो।निश्चय पनि आफ्नै घरको ढोकानेर छिमेकी आएर बाझाबाझ गर्न थाले भने त्यो घरमूलीले प्रतिकार गर्न बाध्य हुने नै छ।  नेपाल भारत सम्बन्धमा दरार आउनुको मूख्य कारण पनि यहिं नै हो। सिमाक्षेत्र अशान्त भएपछि यसै बाहानामा भारत  पनि नाकावन्दीको हदसम्म ओर्लिएको हो। तसर्थ मुलुकको समथर भूमीसंगै सिमाक्षेत्र पनि स्थिर राखिरहनु ओलीको अति प्राथमिकताको विषयमा पर्नुपर्दछ।
   तेस्रो, संविधान कार्वान्यनका चुनौती पनि उत्तिकै पेचिला छन। संविधान निर्माणसंगै मुलुक औपचारिक रुपमै संघियतामा होमिएको छ। संघीयताको सवालमा सवैभन्दा पेचिला मुद्दाहरु रहेको सिमांकन र नामांकनको सवालमा अति नै विवेकिय कौशलता देखाउनुपर्ने हुन्छ। यसै बिषयलाई लिएर मध्य पहाडी भुभाग सुर्खेत देखी लिएर कैलाली हुँदै मध्यपूर्वी तराई निरन्तर अशान्त छ भने झण्डै आधा सय जना नागरिकले ज्यान समेत गुमाउनुपरेको अवस्था छ। पूर्वी नेपालका पहाडी भुभागहरु पनि बढो अधिर छन।सिमांकन र नामांकनमा अलिकती पनि तलमाथी भयो भने ती क्षेत्रहरु तत्काल विस्फोट हुने अवस्थामा छन। तसर्थ यी दुई मुद्दाहरु सतहिमा जति सहज देखिन्छन यथार्थमा अति संवेदनशिल पनि छन। यसतर्फ अग्रसरता लिएर समस्या समाधानतिर लाग्नु ओलीको अर्को प्राथमिकता हुनुपर्छ।
    चौंथो, भुकम्पका घाउहरुमा मल्हम लगाउनु ओलीको अर्को दायित्व हुनुपर्दछ। गत बैशाख १२ गते आएको विनाशकारी भुकम्प र त्यसयताका लगातार पराकम्पनले तहस नहस पारेको मुलुकलाई पुर्ववत अवस्थामा फर्काउनु ओलीको अर्को महत्त्वपूर्ण दायित्व हुनुपर्दछ। कतिपय भुकम्पपिडितहरु अझैपनि त्रिपालकै साहारामा जीवन गुजारीरहेको अवस्थामा अब पनि सरकारले भुकम्प पिडितलाई उचित सम्बोधन गर्नु विलम्व गर्नु हुंदैन। पुनर्निर्माण प्राधिकरणलाई दलिय लुछाचुंडिको थलोको रुपमा रुपान्तरित नगरेर अधिकतम अधिकार सहित स्वतन्त्र रुपमा कार्य गर्न दिनुपर्दछ र यथाशिघ्र प्रभावकारी रुपमा  काम थाल्न निर्देशन दिनुपर्दछ ताकी भुकम्पपिडितहरुले अझै पनि पिडाहरु खेपिरहनु नपरोस। वस मोटामोटी रुपमा ओलीका आगामी कार्यभार हरु यसै विषयतर्फ केन्द्रित हुनुपर्दछ। आशा छ यस कार्यभारसंगै ओलीले आफ्नो प्रधानमन्त्रीत्व काल सफलतापूर्वक बिताउने नै छन। बांकी सम्भावना र चुनौतीका बिषयमा फेरि आर्को आलेखमा उल्लेख गर्दै गरौंला। तर अहिलेलाई भने फेरि पनि सफल कार्यकालको लागि शुभकामना नवनिर्वाचित प्रधानमन्त्रीलाई !